आइपुग्यो विराटनरमा रेल


 

सरोज यादव, विराटनगर
निकै लामो समयको प्रतीक्षापछि मोरङको विराटनगरसम्म रेल आएको छ । आइतबार विराटनगर–१८ भेडियारीसम्म रेल आएको हो ।
भारतीय पक्षले रेलका इन्जिन ल्याएर रेल्वे ट्रयाकको सफल परीक्षण गरिएको छ । उक्त रेलको इन्जिनलाई सर्वसाधरणले भव्य स्वागत गरेका छन् ।

भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रको रेलको ट्रयाक परीक्षणका क्रममा आइतबार रेलको इन्जिन आएको हो । निर्माण कम्पनी इर्कनका पदाधिकारी, भारतीय रेल विभागका अधिकारी सवार इन्जिन भारतको बथनाहादेखि नेपालको कस्टम यार्डसम्म आएको हो ।

न्यु बिजी रेल लाइन प्रोजेक्टअन्तर्गत उक्त ट्रयाक भारतीय निर्माण कम्पनी इर्कनले निर्माण गरेको हो ।
कम्पनीको प्रमुख आश्विनी कुमारले नेपालले रेललाइनमा पर्ने जग्गा हस्तान्तरण गरे अबको डेढ वर्षभित्र कटहरीसम्म रेल पुग्ने बताए । ३ अर्व ७३ करोड भारतीय रुपियाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ ।

भेडियारीसम्म रेलको नियमित सञ्चालनका लागि भने अझै ४५ दिन लाग्ने रेल्वे ट्रयाक निर्माण कम्पनी इर्कनका डेपुटी जनरल मेनेजर नगेन्द्र कुमारले बताए ।

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रहेको छ । नेपाल तर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको थिएन । रेल्वेको परीक्षण सफल भएपछि पहिलो चरणमा मालबाहक रेल नेपाल आउनेछ । त्यसपछि सोही रेलमार्गमा थप लिंक निर्माण भएपछि यात्रुबाहक रेल नेपालतर्फको कटहरीसम्म आउने छ ।

कोलकत्ताबाट नेपाल जोड्ने सिधा रेलमार्ग नहुँदा ढुवानी लागत बढेको गुनासो गर्ने नेपाली उद्योगी व्यवसायीलाई मालबाहक रेल सञ्चालनमा आएसँगै सामान आयातमा सहज हुने विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साहले बताए ।

नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले ब्यहोर्ने समझदारी भएको थियो ।

समझदारी अनुसार सन् २०१७ सम्ममा नेपाली भूमिमा रेल ल्याउनुपर्ने भए पनि भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८ दशमलव ६ किलोमिटरमध्ये ८ किलोमिटरको काम पूरा भएको छ ।
बाँकी काम मुआब्जा विवादले अवरुद्ध छ । तसर्थ रेलमार्गलाई पूर्णता दिन समयमै मुआब्जा विवाद सल्टाउन भने सबैपक्ष अलि गम्भीर हुर्नुपर्ने देखिन्छ ।