डोटीमा जेष्ठ नागरीकले बृद्ध भत्ता पाएनन

0
Shares

विमल बिष्ट, डोटी ।
दशै सकिएर तिहार आउन लाग्दा समेत डोटीको दिपायल सिलगढी नगरपालिकाका जेष्ठ नागरीकहरुले बृद्ध भत्ता पाउन सकेका छैनन् । लामो समय देखी बृद्ध भत्ता नपाएपछि स्थानिय बृद्ध÷बृद्धाहरु निकै आक्रोसित भएको दिपायल सिलगढी नगरपालिका २ का स्थानिय मनमोहन पनेरुले बताउनु भयो । उहाँले भन्नु भयो ‘दशैमा पाउनु पर्ने बृद्ध भत्ता अहिले सम्म बितरण नहुँदा बृद्ध÷बृद्धाहरु रिसले आगो भएका छन् ।’

उता दिपायल सिलगढी नगरपालिका २ का वडा अध्यक्ष राजेन्द्रबहादुर खड्काले नगरपालिकाले केही दिन पहिले आफु खुसि कर्मचारी सरुवा गरेका कारण बृद्ध भत्ता बाड्न नसकेको बताउनु भयो ।

‘वडा कार्यालयमा भएका कर्मचारी नगरपालिकाले आफु खुसि सरुवा गरेका कारण बृद्ध भत्ता बाड्न सकेका छैनौ,उहाँले भन्नु भयो ‘भत्ता बाड्ने कर्मचारीनै छैनन्,कसरी भत्ता बाडौ ।’

बृद्ध भत्ता नपाउदा आफुहरुलाई खर्च टाल्न समेत धौ धौ भएको दिपायलका अर्का स्थानिय बृद्ध राम कामीले बताउनु भयो । उहाँले भन्नु भयो ‘भत्ताको भर पर्दा पर्दा लामो समय भई सक्यो,कसरी खर्च टाल्ने समस्यामा परेका छौ ।’