पीडैपीडामा एकल महिला


महेश न्यौपाने, रोल्पा
विभिन्न कारणले श्रीमान गुमाएर एकल हुन पुगेका महिलाहरु घरेलु र सामाजिक हिंसाको दोहोरो चपेटामा परेका छन । श्रीमानको मृत्यु पछि उनीहरु नारकीय जीवन जिउन वाध्य हुने गरेका छन । दश वर्ष लामो सशस्त्र द्धन्दमा देशमै सवभन्दा धेरै मानवीय क्षति व्यहोरेको रोल्पामा धेरै महिलाहरु एकल जीवन विताई रहेका छन ।

पछिल्ला दिनमा रोजगारीका लागि खाडी जाने रोल्पालीको संख्यामा भएको वृद्धि संगै मृत्यु हुनेको संख्या समेत वढ्दै गएको छ । गरिवीका कारण विदेश जान वाध्य उनीहरु असुरक्षित र जोखिमपूर्ण काम गर्न वाध्य हुदै आएका छन । असुरक्षित र जोखिमपूर्ण कामका कारण वर्षेनी सयौंको संख्याका रोल्पाली लास वनेर फर्किने गरेका छन । फलस्वरुप जिल्लामा एकल हुने महिलाको संख्या समेत वढ्दै गएको छ । एकातिर श्रीमान गुमाएको पिडा अर्कातिर घरेलु हिंसाको यातनाले यहाँका एकल महिलाहरुलाई महिला अधिकार र मानव अधिकार आकाशको फल आँखा तरि मर भएको छ ।

आफ्ना श्रीमानहरुले विभिन्न समयमा भएका आन्दोलनमा वलिदानी दिए पनि परिवर्तन पछि भने आफुहरुलाई राज्यले सम्मान गर्न नसकेको आन्दोलनमा श्रीमान गुमाएका एकल महिलाहरुले गुनासो गरेका छन । श्रीमानको मृत्यु पछि अधिकांश एकल महिलाहरुले नारकिय जीवन जीउन वाध्य छन मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले भनिन । आफुहरु पिडित एकल महिलाहरुको अधिकारका लागि वकालत गरिरहेको आचार्यको भनाई छ । श्रीमतीको मृत्यु पछि दोस्रो विवाह गर्ने पुरुषहरुले राज्यवाट उपलव्ध हुने राहात लिईरहेको भए पनि दोश्रो विवाह गर्ने एकल महिलालाई भने दोश्रो विवाह गर्ने वित्तिकै राज्यले दिने राहात कटौती हुने गरेको प्रति आचार्यको असन्तुष्टी छ ।

वैदेशिक रोजगारीमा खाडी गएका श्रीमानको उतै मृत्यु भए पछि “पोइखाने अलच्छिनी” भन्दै परिवारले आफुलाई घरवाट निकाले रोल्पा नगरपालिका १ की शान्ती विकले वताईन । श्रीमानको मृत्यु पछि ८ वर्ष सम्हालेको घर पराई भयो विकले भनिन । सासु ससुराको मुख हेरेर वाँकी जीवन जिउने उनको ईच्छा पुरा हुन पाएन । ६ वर्षिया छोरी च्यापेर कानूनी लडाईका लागी अदालत धाईन । जिल्ला अदालत र पुनरावेदन अदालतले अंश पाउने गरि न्याय दिए पनि परिवारले भने अहिलेसम्म सम्पत्ती त के घरमा वस्न समेत दिएको छैन । अदालतले दिएको न्याय परिवारले नदिए पछि विरक्तीएर उनी अहिले छोरी संगै अर्काको घरमा वस्दै आएकी छिन ।

शान्ती जस्ता हिंसा पिडित हुने महिलाको संख्या जिल्लामा ठूलो मात्रामा रहेको महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले वताईन । यसरी पिडित हुने मध्ये अधिकांश श्रीमान गुमाएका एकल महिलाहरु छन अध्यक्ष आचार्यले भनिन । हिंसा पिडित महिलाहरुका लागी अल्पकालिन आश्रय स्थल मार्फत सहयोग गरिरहेको सगरमाथा महिला वचत तथा ऋण सहकारी संस्थाकी टिका आचार्यले जानकारी दिईन ।

घरवाट निकालिएका त्यस्ता महिलाहरुसंग खाने, वस्ने तथा कानूनी उपचार गर्ने खर्चको अभाव हुने भएकाले आफ्नो संस्थाले अल्पकालिन रुपमा निशुल्क आश्रय र खानाको व्यवस्था गरिरहेको आचार्यले जानकारी दिईन । हालसम्म १५० वढी त्यस्ता महिला र बालवालिकाहरुले उक्र सेवा लिईसकेका छन आचार्यले भनिन् । नियमित श्रोतको अभावमा दाताको भर पर्दा सेवा निरन्तरतामा समस्या हुदै आएको आचार्यले जानकारी दिईन । हाल जिल्लामा संयुक्त राष्ट्र संघीय जनसंख्या विकास कोषको आर्थिक सहयोगमा हिंसा पिडित महिलाहरुका लागि अल्पकालिन आश्रयको सुविधा दिने गरिएको वताइएको छ ।

घरको मुख्य मान्छेको मृत्यु पछि एकल महिलाहरुमा पारिवारिक जिम्मेवारीको वोझ थपिएको वेला घरेलु हिंसाले उनीहरुको जीवन थप कष्टकर वन्ने गरेको छ । यस्ता महिलाहरु घरेलु कामदार, जोखिमपूर्ण निर्माण कार्य, होटेलको भाडा माझ्ने तथा गिट्टी फोरेर दैनिकी चलाउन वाध्य हुने गरेको पाईएको छ ।

२०५२ साल फाल्गुन देखी तत्कालिन विद्रोही माओवादीले संचालन गरेको सशस्त्र युद्धमा राज्य र विद्रोही पक्षवाट श्रीमान गुमाएका महिलाको संख्या जिल्लामा ३२३ जना रहेको छ । यसैगरि अन्य कारणले श्रीमान गुमाएका महिलाको संख्या जिल्लामा ६ हजार ५ सय भन्दा वढी रहेको मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाले जानकारी दिएको छ ।