झापामा रोकएन तस्करी, नाकाबाट धमाधम सामान बरामद


नेपाल समाचारपत्र, भद्रपुर
नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कढाइका साथ सीमा क्षेत्रमा प्रहरी परिचालन गरेपनि कारोबारीले निकासी पैठारीलाइ जारी राखेका छन् । दैनिक रुपमा दुवै प्रहरी सङ्गठनले एकलाखभन्दा माथिको राजस्व सङ्कलन गरिरहेपनि तस्करी भने नियन्त्रण गर्नसकेका छैनन ।

चालू आर्थिक वर्ष यता ती सङ्गठनले भन्सारबाट कायम भएको राजस्वमात्र अनुमानित डेढ करोड पुर्याइसकेका छन् । प्रहरीले सामान बरामद गरिरहेपनि कारोबारीले आफनो पेशालाइ निरन्तरता दिएको राजस्वले पुष्टि भएको छ । दिपावली तथा छठ पर्वलाइ लक्षित गरी भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको सामग्री दुवै प्रहरी सङ्गठनले छुट्टा–छुट्टै स्थानबाट बरामद गरेको जनाएका छन् ।

यसैक्रममा वडा प्रहरी कार्यालय भद्रपुरले मङ्गलबार विहान ७७ हजार ८ सय ६३ रुपैयाँ मूल्य बराबरको सामान सहित तीनजना भारतीय कारोबारीलाइ नियन्त्रणमा लिएको छ । भद्रपुर– ५ स्थित देवीवस्तीबाट प्रहरीले कपडा,हरियो मटर,सृङ्गार लगायतको सामान बरामद गरिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले बताए । सामानसँगै भारत डाजीजोतका २८ वर्षिय मोहमद् भुटटु, वर्ष २५ को मुजाहित मोहमद् र १७ वर्षिय मोहमद् समिरलाइ पक्राउ गरिएको इन्सपेक्टर जबेगूले बताए । उनिहरुले जुटको बोरामा पोको पारेर ल्याइरहेको अवस्थामा सामानसहित पक्राउ गरिएको उनको भनाइ छ । मानिस र बरामद सामानलाइ आवश्यक कारबाहीका लागि मेचीभन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

यता सोमबार राती जिल्ला प्रहरीले मेची नगरपालिका– ६बाट निकासी तथा पैठारी गरेको १ लाख ४५ हजार ९ सय ८० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको जिल्लाका इन्सपेक्टर कुलप्रसाद चौधरीले बताए । बरामद सामग्रीमा सुख्खा सुपाडी ,हरियो मटर ,सुर्तीजन्य पदार्थ र कपडा रहेको इन्सपेक्टर चौधरीले जानकारी दिए ।

त्यस्तै मंगलबार राती सशस्त्र प्रहरीबाट साधा पोसाकमा खटिएका प्रहरीले मेचीनगरपालिका स्थित ज्यामिरगढीबाट नौ पोकामा रहेको अनुमानित पाँचलाख मूल्य बराबरको कपडा बरामद गरेको गरिएको सशस्त्र प्रहरी बल गण–२ झापाले जनाएको छ । नेपाल भारतको सीमामा राखेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले कपडालाइ नियन्त्रणमा लिएको डिएसपी आजिस ओलीले बताए ।

प्रहरीलाइ देख्नेवित्तकै कारोबारी भागेकोले मानिस पक्राउ गर्ननसकिएको प्रहरीले जनाएको छ । ठुलो परिमाणमा कपडासँगै बारुद्धजन्य सामग्रीपनि रहेकोले वुधबार जिल्ला प्रशासन, प्रहरी, पत्रकार लगायतको उपस्थितीमा सार्वजानिक गरिने भएकोले विवरण सङ्कलन जारी रहेको ओलीले जानकारी दिए । झापामा गत वर्षको तुलनामाभन्दा यो अवधिमा राजस्व सङ्कलनमा बृद्धि भएकोले तस्करी नियन्त्रण भइरहेको उनले दाबी गरे । सीमीत स्रोत साधन र सवैको सहयोगमा तस्करी नियन्त्रण भइरहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले तस्करी नियन्त्रण भइरहेको दाबी गरेका छन् । तस्करीमा कुनै सम्झौता नहुने उनले बताए । तस्करले सामान छिराउन प्रयास गरिरहेपनि त्यो असफल बन्दै गएको उनले जनाए ।