गाउँपालिकाले थाल्यो रक्सी नियन्त्रण अभियान


दुर्गाप्रसाद शर्मा, पर्वत
गाउँमा खाद्यान्नभन्दा गुणस्तरहीन मदिरा बढी भित्रीएको भेटिएपछि पर्वतको महासिला गाउँपालिकाले रक्सी नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

पर्वतको महाशिला गाउँपालिका १ होश्राङ्दीमा एक वर्षमा ८० लाखको खाद्यान्न आयात हुँदा १ करोड ५० लाख रुपैयाँको गुणस्तरहिन मदिरा भित्रिएको भेटिएपछि गाउँपालिकाभर रक्सी नियन्त्रण अभियान सञ्चालन गरेको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार एउटा वडामा खाद्यान्न भन्दा बार्षिक रुपमा दोब्बर रुपमा गुणस्तरहिन मदिरा भित्रीएको भेटिएपछि यसलाई गम्भीर रुपमा लिएर नियन्त्रणको अभियान थालिएको हो । ‘डेढ करोडको मदिरा भित्रिएको छ, तर खाद्यान्न ८० लाखको भित्रिएको छ, त्यस्तो मदिरा रोक्न सकेमा एउटा वडामा डेढ करोड बचत हुन्छ, त्यही होइन समृद्धि ?’ उनले भने । एउटा वडामा मात्रै खाद्यान्न भन्दा ७० लाख बढीको मदिरा भित्रिनु निकै खतरा भएको उनले बताए ।रक्सी नियन्त्रण अभियान अन्र्तगत महासिला गाउँपालिकाका सबै वडाले अभियान सञ्चालन गरिरहेका छन । वडा नं ३ बालाकोटले वडालाई रक्सी नियन्त्रीत वडा घोषणा गरिसकेको छ भने अन्य वडाले निरन्तर रुपमा जनचेतना जगाउँने र टोलटोल तथा बस्तीमा नियन्त्रण क्षेत्र घोषणा गर्ने काम गरिहेका छन ।

गाउँपालिका सबै वडालाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गर्ने अभियानमा जुटेको छ । वडा नम्बर १ का हरेक टोललाई मदिरा नियन्त्रित क्षेत्र घोषणा गर्न थालिएको वडा अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए ।‘अहिले हरेक टोललाई मदिरा नियन्त्रित क्षेत्र बनाउँदै छौ’ उनले भने ‘अब छिट्टै वडालाई नै मदिरा नियन्त्रीत क्षेत्र घोषणा गर्नेछौ’

गाउँपालिकाले दिएको जानकारी अनुसार गाउँपालिकाभरि मदिरा बिक्रीका लागि तीन÷चार वटा पसल मात्रै दर्ता भएको र त्यस्ता पसललाई गैरकानुनी रुपमा मदिरा बिक्री गर्न कडाइ गरिएको छ । गाउँपालिकाले अब कुनै पनि नयाँ पसललाई मदिराजन्य वस्तु बिक्रीका लागि अनुमति नदिने स्पष्ट पारेको छ। मदिरा सेवनका कारण वर्ष दिन नबित्दै आधा दर्जनले हाम फालेको प्रसंग उठाउँदै गाउँपालिका अध्यक्ष पौडेलले घरेलु मदिरा उत्पादन, बिक्री–वितरण गरेर जिविकोपार्जन गरेकालाई गाउँपालिकाले उनीहरुको चाहनाअनुसार अन्य कुनै पनि पेसा, व्यवसायमा सहयोग गर्ने नीति लिएको पनि जानकारी दिए ।

मदिराका कारण झैझगडा, पारिवारिक कलह, विखण्डन, विभिन्न प्रकारका अपराध बढेपछि महाशिला–३ बालाकोटलाई गत असोज ८ गते मदिरा, गाँजा र जुवातास नियन्त्रित क्षेत्र घोषणा गरिएको थियो। गुनासो आएपछि वडा अध्यक्ष कर्णप्रताप गुरुङको नेतृत्वमा प्रहरीसहितको टोलीले शंकास्पद घर र पसलमा छापा मारेर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । केही दिनयता वडा अध्यक्ष गुरुङ आफैं सक्रिय भएर वडाका मदिरा उत्पादन गर्ने शंकास्पद घरहरुमा निगरानी बढाउँदै आएका छन् । गाउँपालिकाले अब कुनै पनि नयाँ पसललाई मदिराजन्य वस्तु बिक्री–वितरणका लागि अनुमति नदिने स्पष्ट पारेको छ ।