समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बनाईने


काठमाडौं । नेपाल प्रहरीले हालै सार्वजनिक गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई मुलुकभर प्रभावकारी ढंगले लागू गर्ने प्रतिवद्धता पुन जनाएको छ । ‘

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले हिजो के भयो त्यसतर्फ अव प्रहरी संगठन लाग्दैन अव घोषणा गरेको कार्यक्रम प्रभावकारी ढंगले लागू गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नेपाल प्रहरीले हालै सार्वजनिक गरेको ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाको परिचय, साझेदारीको औचित्य, सुरक्षा र विकासको अन्तर सम्बन्ध, सामुदायिक प्रहरी र स्थानीय सरकार प्रणालीको सामञ्जस्यता, स्थानीय तह तथा नेपाल प्रहरीको साझेदारीका आधारहरु र विद्यालय सम्पर्क कार्यक्रमको औचित्यबारे जानकारी दिनुभयो ।

विगतका सामुदायिक प्रहरी लगायतका कार्यक्रमको राम्रा अभ्यासका साथै अझै बृहत क्षेत्रलाई समेटेर एकिकृत रुपमा थप प्रभावकारी संचालन गर्ने लक्ष्य अनुरुप उक्त अवधारणा ल्याइएको प्रष्ट पार्दै उहाँले अवधारणा शान्ति सुरक्षाको लागि मात्र नभई नेपाल प्रहरीको क्षमता अभिवृद्धिको लागि समेत महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा कूल अपराधमा अभियुक्त तथा पीडितको उमेर समूहबारे आर्थिक वर्ष २०७३र०७४ को तथ्याङ्क विश्लेषण, जबरजस्ती करणी पीडितको आर्थिक वर्ष २०७४–०७५ तथा लागूऔषध अपराधमा उमेरगत संलग्नताको अर्धवार्षिक तथ्याङ्गत विश्लेषण गर्दै प्रहरी वरिष्ठ उपरिक्षक सुबेदीले समस्या समाधान, अपराध नियन्त्रण र अनुसन्धानमा सफलताका लागि उपलब्ध साधन स्रोतलाई समुचित प्रयोग गरी नेपाल प्रहरी अगाडि बढ्ने बताउनुभयो ।

नेपाल प्रहरीका काम कारवाहीलाई थप प्रभावकारी बनाउन साझेदारी अवधारणा ल्याइएको उल्लेख गर्दै उहाँले यसको सफलताको लागि संचारकर्मी लगायत सबै पक्षबाट निरन्तर सहयोग, सहकार्य र सार्थक साझेदारीको अपेक्षा गरिएको बताउनुभयो ।
उक्त अवसरमा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले संगठनलाई चुस्त र गतिशील बनाउन रचनात्मक सुझावहरूको सदैव स्वागत गरिने बताउनुभयो । नेपाल प्रहरी अझै उत्तम कार्यका लागि केही न केही नयाँ प्रयास गरिरहेको उहाँले चर्चा गर्नुभयो ।