कांग्रेस क्षेत्रीय सम्मेलन सम्पन्न, कवे पक्षद्वारा बहिष्कार


नेपाल समाचारपत्र, भक्तपुर । नेपाली कांग्रेस २ नं. क्षेत्रीय सम्मेलनले बिभिन्न बुँदागत प्रतिवेदन, नीति र कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ । सम्मेलनले काँग्रेसको नीति, कार्यक्रम, सांगाठनिक संरचना पारित गरेको छ ।

पार्टीको विधान, नियमावली, केन्द्रिय निति निर्देशनलाई अवलम्बन गर्दै क्षेत्रीय स्तरमा कार्यान्वयन गराउन क्षेत्रीय कार्यसमिति दृढ संकल्पित रहने अठोटका साथ सम्मेलन सम्पन्न भएको क्षेत्रीय अध्यक्ष नारायण खायमलीले जानकारी दिनुभयो ।
सम्मेलनले वर्तमान् सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको ठहर गरेको जानकारी दिदै उहाँले सरकारले अत्याधिक मुल्य वृद्धि समेत नियन्त्रण गर्न नसकेको उहाँले बताउनुभयो ।

काँग्रेसले राष्ट्रिय एकता र अखण्डता, शान्ति र संविधानको सर्वोच्चता, वैयक्तिक स्वतन्त्रता, सामाजिक सुरक्षा, समाजवादको लागि उत्पादन वृद्धि, सम्वृद्धि र आर्थिक न्याय, वृहत पूर्वाधार निर्माण, भूमि, कृषि, किसान र खाद्य सुरक्षा शिक्षा, स्वास्थ्य र आधारभूत अधिकार समावेसीकरणको पक्षमा आवाज उठाउनेबारेमा सम्मेलनमा सहभागि एकमत भएको बताउनुभयो । पार्टीको समावेशी संगठनिक नेतृत्वको विकास गर्ने, युवा नेतृत्वको विकास गर्न काँग्रेस लाग्ने भएको छ ।

क्षेत्रीय सम्मेलन नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापतिका प्रत्यासी एवं युवा नेता अष्टकुमार कवे पक्षले भने बहिष्कार गरेका छन् । बहिष्कार पछि प्रतिक्रिया दिदै कवेँले पार्टी मनोमानी ढंगले एकलौटी रुपमा चलेको आरोप लगाउँनु भयो ।

उहाँले काँग्रेस जिल्ला समितिले विगतका चुनावमा पार्टीलाई अन्तर्घात गर्नेलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको, मध्यपुरथिमि नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरु उपप्रमुखदेखि वडा अध्यक्ष र नगर समिति सदस्यहरुलाई समेत पार्टीले कारबाही गरेको र पार्टीका प्रतिद्धन्द्धीलाई मनोनित नगरी बेवास्ता गरेर एकलौटी ढंगले अगाडि बढेकाले सम्मेलन बहिष्कार गरेको बताउनुभयो । यसअघि सम्मेलनको पार्टीका उपसभापति बिमलेन्द्र निधीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । सम्मेलनमा २४० जना प्रतिनिधी एवं पर्यवेक्षकको सहभागिता रहेको गियो ।