नेपाल–पाकिस्तानको सम्बन्ध जनस्तरसम्म


काठमाडौं, (नेस)
नेपालका लागि पाकिस्तानी राजदुत डा. मजार जावेदले दुवै मुलुकको सम्बन्ध सरकारी स्तरमा मात्र सीमित नभएर जनस्तरमा पनि सुदृढ रहेको बताउनु भएको छ ।

पाकिस्तानी दूतावासले बुधबार काठमाडौंमा आयोजना गरेको ‘जम्मु–काश्मिर विवाद र मानव अधिकार उलंघनका घटनामा वृद्धि’ विषयक कार्यक्रममा बोल्दै राजदुत जावेदले नेपाल–पाकिस्तानबीच एक अर्काको आन्तरिक मामलामा अहस्तपेक्षको नीति रहेको विचार व्यक्त गर्नुभयो । वर्षौ पुरानो जम्मु–काश्मिर समस्याको समाधानका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुसार जनमत संग्रहमा जानुपर्ने उहाँको भनाई छ ।
राष्ट्रसंघको प्रस्तावमा पाकिस्तान र बहुसंख्यक मुलुक रहेको राजदूत जावेदले बताउनुभयो ।

जम्मु–काश्मिरको स्वामित्वको विषयमा पाकिस्तान र भारतबीचको ७ दशक भन्दा लामो लामो द्धन्दका कारण हजारौ व्यक्तिले अकालमा ज्यान गुमाएका छन् । कार्यक्रमका अन्य वक्ताले जम्मु–काश्मिर समस्या राष्ट्र संघकै पहलमा समाधान हुनुपर्ने र त्यहाँका जनताको स्वविवेकीय अधिकारको सम्मान गरिनुपर्नेमा जोड दिए । जम्मु–काश्मिरको मानव अधिकार उलंघनका घटनाप्रति सरोकारवाला अन्तर्राष्ट्रिय निकाय मौन रहेकोमा वक्ताले आलोचना गरे ।