प्रधानमन्त्रीले थाले अस्पतालबाटै काम

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालेका छन् । शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए ।

अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखीय सुधार आएको बताए । साथै एन्टिवायोटिकको कोर्ष एक÷दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ ।