बढी भाडा लिने ५ जना समातिए

0
Shares

हेटौंडा,(नेस) ।

दशैं÷तिहारलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयबाट तयार पारिएको सुरक्षा योजनाअनुसार दशंै÷तिहारमा हुनसक्ने सवारी आवतजावतमा यात्रुलाई बढी भाडा लिएर हुनसक्ने ठगी नियन्त्रण गर्न भइरहेको प्रयासअनुरुप यात्रुलाई अप्ठ्यारोमा पारी तोकिए भन्दा बढी भाडा लिएको आरोपमा ५ जना पक्राउ परेका छन् ।

सार्वजनिक अशान्ति गर्न खोजेकाले हेटौंडा–१० बस्ने वर्ष २९ का सुवास घिसिङ, वर्ष
३९ का धनबहादुर लामा, वडा–१ बस्ने वर्ष ३१ का निराजन घिमिरे, वर्ष २९ का सुशील धिमाल र हेटौंडा–१९ बस्ने वर्ष ३८ का बुद्धिलाल गोलेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जनगुनासोका आधारमा संयुक्त टाटा सुमो काउन्टर हेटौंडामा प्रहरी निरीक्षक मधुकुमार थापासमेतको टोली खटिएर अनुगमन गर्दा सुमो पार्कको काउन्टरबाट यात्रु टिकट बिक्री नगरी काउन्टर बाहिर बसी यात्रुलाई गोप्यरुपमा काठमाडौं जाने भाडा ४ सय ४४ लिनुपर्नेमा एक जनाको ७ सय ५० देखि १ हजारसम्म लिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

‘हामी बन्दोबस्त गरी पठाउँछौं’ भनी यात्रुसँग बार्गेनिङ गरिरहेको अबस्थामा फेला पारी उनीहरुलाई त्यसो नगर्न र नियमअनुसार टिकट काउन्टरमा बसी टिकट काटेर यात्रुलाई पठाउन अनुरोध गर्दा प्रहरीलाई नै अश्लील शब्द प्रयोग गरी हुलहुज्जत गरेको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।