५ किलो चामलले दशैं कसरी मनाउने ?

0
Shares

अर्जुन बोहरा, हुम्ला

सदरमुकाम सिमकोटमा बजार आसपासका क्षेत्रमा चामलको अभाव भएको छ। दशैंको मुखैमा नेपाल खाद्य संस्थान शाखा हुम्लाले खाद्यान्न ढुवानी नगरेपछि स्थानीय बासिन्दादेखि सरकारी कार्यालयका कर्मचारीलाई कसरी दशैं टार्ने भन्ने चिन्ता भएको छ।

चामल ढुवानीको प्रक्रिया झन्झटिलो भएकै कारण नेपाल खाद्य संस्थान सिमकोटस्थित डिपोमा चालू आर्थिक वर्षमा १४ सय क्वीन्टल चामल बिक्री भएको र अहिले २ सय ३९ सय क्वीन्टल चामल मौज्जाद रहेको खाद्य संस्थान हुम्लाका प्रमुख सुरेन्द्र पौडलेले बताउनुभयो।

चालू आवको लागि जिल्ला खाद्य सुरक्षा समितिले स्थलमार्गबाट अदनचुली गाउँपालिकाको श्रीनगर डिपोमा ६ हजार, सर्केगाढ डिपोमा ६ हजार, चंखेली गाउँपालिकामा रहेको देउली डिपोमा ४ हजार, ताजकोट गाउँपालिकामा रहेको छप्रेला डिपोमा ४ हजार, नाम्खा गाउँपालिको याल्वाङ डिपोमा ५ हजार, क्वीन्टल चामल र हवाईमार्र्ग ३० हजार क्वीन्टल चामलको माग भएपनि मागअनुसारको चामल ढुवानी नभएपछि खाद्यान्नको चरम अभाव देखिएको छ।

खाद्य संकट गहिरिँदै गएपछि कर्मचारीलाई समेत ५ किलो चामाल दिइएको स्थानीय कान्ति आधारभूत विद्यालयका शिक्षक बमबहादुर थापाले गुनासो गर्नुभयो। गएको असारदेखि अहिलेसम्म चामल नपाएको उहाँले बताउनुभयो

दशैंमा एक छाक सेता चामलको भात खाउँला भनेर सदरमुकाम आए पनि चामल नपाएको सिमकोट गाउँपालिका–२ का भुवन भण्डारीले गुनासो गर्नुभयो।
सर्वसाधारणलाई मात्र होइ प्रहरी लाई समेत खाद्यान्नको समस्या रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ।

खाद्यान्न संकट भएपछि दशैंका निम्ति बजारबासीको कुपनवाला, कर्मचारीलगायतलाई ५ किलोको दरले चामल वितरण गरिएकोे खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो।

नेपाल खाद्य संस्थानको डिपोमा केही चामल भए पनि खाद्य सुरक्षा समितिले ५ किलोभन्दा बढी चामल वितरण नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना जानकारी दिनुभयो दशैं तिहारको लागि ४ हजार क्वीन्टल चामल आवश्यक हुने भए पनि डिपोमा ३ सय क्वीँन्टल पनि चामल नभएको प्रमुख जिल्ला अधिकारी ढुंगानाको भनाइ छ।