टेलिकमले दशैं अफर ल्यायो


काठमाडौं, (नेस) ।
नेपाल टेलिकमले दशैंको अवसरमा अफर ल्याएको छ । कम्पनीले अनलिमिटेड प्याकअन्तर्गत ६ सय रुपियाँमा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध हुनेछ ।
सो प्याकअन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफ पिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३ यस रुपियाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै भ्वाइस प्याकअन्तर्गत ६ रुपियाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

त्यस्तै डाटा प्याकअन्तर्गत ३६ एमबी डाटा ६ रुपियाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यो अफर असोज २४ देखि कात्तिक ७ गतेसम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

नयाँ अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले एस्ट्रिक १४१५ एस्ट्रिक ९ ह्यास डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ ।
त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।
टेलिकमको रिचार्जमा बोनसअन्तर्गत आगामी असोज २९ गतेदेखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ ।
सय र दुईको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय र हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । सय र दुईको बोनस ३ दिनभित्र र पाँच सय र हजारको बोनस पाँच दिनभित्र उपभोग गरिसक्नुपर्नेछ ।

त्यस्तै एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।

कम्पनीले एडीएसएल, एफटीटीएच, वाईम्याक्सतर्फ असोज ३० गतेदेखि कात्तिक ६ गतेसम्म एडीएसएल, एफटीटीएच, वाईम्याक्सको समयावधि समाप्त हुने ग्राहकको समयावधि कात्तिक ७ गतेसम्म थप हुने कम्पनीले जनाएको छ ।