सुदूरका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेन


राम धामी, डडेल्धुरा
नेपालीहरुको महान् पर्व दशैं नजिकए पनि सुदूरपश्चिम प्रदेशका भोकमरीग्रस्त विकट पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी हुन सकेको छैन ।

टेन्डरमै ढिलाइ भएकाले चालू आर्थिक बर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भइरहेको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ । सो कार्यालयले हालसम्म अछाममा पाँच सय ६१ क्वीन्टल, बाजुरामा पाँच सय र दार्चुलाको खण्डेश्वरीका लागि दुई सय क्वीन्टल चामल पठाउन बाहेक अन्य जिल्लामा पठाउन नसकेको जनाएको छ ।

चामल पठाउन बाँकी रहेको ठाउँका लागि दसैं अगाडि नै चाडपर्वलाई पुग्ने चामल पठाउने प्रयास गरिरहेको संस्थानका प्रमुख प्रेमनारायण भण्डारीले टेलिफोनमा बताए । ‘हामीले चामल पठाउन नसके पनि समस्या भएको छैन’, उनले भने–‘तर, सकेसम्म दसैं अगाडि नै आवश्यक चामल ढुवानी गर्ने प्रयास गरिरहेका छौं ।’

प्रदेशमा सबैभन्दा बढी गरिबी रहेको बाजुराको मार्तडीको लागि वार्षिक सात हजार क्वीन्टल चामल पठाउने कोटा रहेको छ । बाजुराकै कोल्टी डिपोको वार्षिक कोटा १० हजार क्वीन्टल चामल रहेको छ । वार्षिक तीन हजार कोटा रहेको दार्चुलाको खण्डेश्वरीमा दुई सय क्वीन्टल चामल पुगेको छ । सुनसेरा र पारिबगरको लागि भने चामल गएको छैन । दुवै ठाउँको वार्षिक कोटा दुई÷दुई हजार क्वीन्टल चामल रहेको छ ।

अछामको विनायक र कमल बजारको लागि पनि चालू आर्थिक वर्षमा चामल गएको छैन । दुवै ठाउँको लागि वार्षिक तीन हजार क्वीन्टल चामल आवश्यक हुने कोटा निर्धारण गरिएको छ । बैतडीको पुलाउ, पुर्चौडी र मेलौलीका लागि पनि चामल ढुवानी हुन सकेको छैन ।

खाद्य संकटमा रहेको बझाङको सदरमुकाम चैनपुर, बिसौना, तल्कोट, काँडामा समेत संस्थानको चामल गएको छैन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वार्षिक ४० देखि ४५ हजार क्वीन्टल चामल खपत हुने गरेको संस्थानले जनाएको छ । डडेल्धुरा डिपोमा समेत मागअनुसार चामल ढुवानी नहुँदा आपुर्तीमा कठिनाई भईरहेको सदरमुकामस्थित खाद्य संस्थानको डिपोले जनाएको छ ।