लागू औषध कारोबारी बढे


नेपाल समाचारपत्र, काठमाडौं ।
प्रहरीले देशका विभिन्न स्थानबाट लागू औषध ओसारपसारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले मुलुकका विभिन्न ठाउँबाट ठुलो मात्रामा लागुऔषधसहित कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नवलपारासीको बर्दाघाटबाट २६ वर्षिय दुसाध र २४ वर्षिय धर्मेन्द्र यादवलाई करिब २ केजि लागु औषधसहित पक्राउ गरेको छ । यस्तै लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अबैध लागू औषध खैरो हेरोईन २१ ग्रामसहित कैलालीको गोदावरीबाट २९ वर्षिय हरिश बोगटीलाई पक्राउ गरेको छ ।

यस्तै नेपालगंजबाट खटिएको प्रहरी टोलीले करिब ११ ग्राम खैरो हेरोईनसहित ३० वर्षीय जिवन सोमई, २१ बर्षीय निरज राई, २३ वर्षीय देब बहादुर रोकाय, १४ वर्षीय बिनोद चन्द, २६ वर्षीय रज्जु अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसका साथै लागू औषध नियन्त्रण व्यूरो , भैरहवाबाट खटिएको प्रहरी टोलीले लागु औषध डाईजेपाम ६२, फेनारगन ६२ र बुप्रिनर्फिन ६२ एम्पूल गरी १८६ एम्पुल सहित २३ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको लागु औषध औषध नियन्त्रण ब्युरो कोटेश्वरले जानकारी दिएको छ ।