कांग्रेस बैठकको निर्णय: बुढी गण्डकी गेजुवालाई सुम्पनु आपत्तिजनक


नेपाल समाचारपत्र
काठमाडौं । स्वदेशी लगानीमै निर्माण गर्न सकिने बुढी गण्डकी जलविद्युत परियोजनालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनको गेजुवा कम्पनीलाई सुम्पेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

बैठकले नेपाल बायु सेवा निगमले गरिद गरेको वाइड वडी जहाज खरीद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक चलखेल भएको भन्दै उक्त घोटाला बारेमा छानविन गरी जनसमक्ष सार्वजनिक गर्न पनि माग गरेको छ ।
आइतवार राती अवेर सम्पन्न केन्द्रिय समिति बैठकले बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको थियो भन्दै त्यसका लागि नेपाली जनताको लगानी तथा सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला चीनको गेजुवा कम्पनीलाई सुम्पने निर्णय अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको जनाएको हो ।

‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन्’ केन्द्रिय समिति बैठकको निर्णयमा भनिएको छ– कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसायका साथ आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ ।

सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाएको भन्दै कांग्रेसले स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाउन माग गरेको छ ।

बैठकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुग्दा पनि कारवाहीको दायरामा नल्याउनु वर्तमान सरकार विषयको गम्भीरताका प्रति असंवेदनशील र असक्षम प्रमाणित भएको जनाएको छ ।

चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा वृद्धि हुँदा सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले त्यसमा हस्तक्षेप गर्नु त परै जाओस्, सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सन्दर्भमा बैठकले यो आयोजना सम्पन्न गर्न आवश्यक पर्ने जग्गा प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउन सरकारले ढिलाई गर्नु नहुने जनाएको छ । विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति भने नेपाली कांग्रेसको गम्भीर विमति राखेको छ । बैठकको निर्णयबारे कांग्रेस प्रवक्ता शर्माले भन्नुभयो– निजगढ विमानस्थल निर्माणकालागि आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न र यसलाई विवादित बनाउनबाट रोक्न तथा समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन सरकारलाई अपील गरेका छौं ।

सुदूर पश्चिम प्रदेश सभाले प्रदेश राजधानीे भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिका– २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी, गैर जिम्मेवार र भू तथा वन माफियाहरुको चलखेलबाट प्रभावित भएको कांग्रेसले ठहर गरेको छ ।
प्रदेश सभाको निर्णयले उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अरबौं लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने अवस्था आउने भन्दै यो निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको छ ।

‘वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय छ’ काग्रेसको निर्णयमा भनिएको छ– चुरेको फेदीमा अवस्थित उक्त क्षेत्रमा सहर निर्माण गर्ने, भौतिक पूर्वाधार खडा गर्ने कार्यले प्राकृतिक प्रकोप बढ्न जाने र तल्लो तटीय क्षेत्रमा बाढी, भू–क्षय लगायत मरुभूमिकरणको समस्या बढ्ने जोखिम छ ।

नेपाल विद्यार्थी संघको सदस्य बन्ने उमेरको हद बारे नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत राख्ने निर्णय पनि बैठकले गरेको छ । नेविसंघको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा विहीवार बस्ने बैठकले निर्णय गर्ने प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।