सगरमाथा चढ्न नक्कली आरोहणपत्र बनाउने ३ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि नक्कली आरोहणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सेभेन समिट ट्रेक्स प्रा.लि.मा कानूनी विभाग प्रमुख रुपमा कार्यरत निभेश कार्की, मार्केटिङ मेनेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

सेभेन समिट ट्रेक्स प्रा.लि.मार्फत सगरमाथा आरोहणका लागि तयार पारिएको ‘१४ पिक एक्सपेरियन्स एभरेष्ट एक्सपेडिसन–२०१८’ नामक आरोहण दलको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर अभियुक्तहरुले उक्त अनुमतिपत्रमा भएको १२ जनाको नाममा १ जना चाईनिज र अष्ट्रेलियन नागरिकको नाम थप गरी किर्ते गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पर्यटन विभागबाट जारी भएको आरोहण अनुमतिपत्र लुकाएर उनिहरुले सोही मिती र परमिट नम्बर राखेर नक्कली अनुमती पत्र बनाएर सेभेन समिट ट्रेक्स प्रालिमा पेश गरेका थिए । सोही किर्ते पत्रको छाँयाप्रति सगरमाथा प्रदुषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश गर्दा विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको पत्रमा आरोही संख्या फरक परेपछि केन्द्रिय अनुसन्धान ब्यूरोले यसबारे अनुसन्धान थालेको थियो ।

उनीहरुले योजना अनुसार अभियुक्त निभेश कार्कीले पर्यटन विभागबाट सक्कली छाप लगाएको लेटर प्याड ल्याई सक्कल जस्तै परमिट बनाउने र विजयश्वर अर्यालले लेखा मिलाउने जिम्मा लिएको प्रहरी अुनसन्धानमा खुल्न आएको छ । त्यस्तै अभियूक्त फुर्तेन्जी शेर्पाले चाहिएको ठाउँमा सोही नक्कली पत्र वितरण गर्ने जिम्मेवारी लिएर काम गर्ने गरेको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।