नेपाल समाचारपत्र, भद्रपुर ।
तपाई पीडित हुनुभएको छ ? बारम्बार प्रहरी कार्यालयमा धाइरहनु भएको छ? तपाइलाई न्याय दिलाउन कुनै विचौलिया पछि लागेका छन्? जस्ता अनेकौ झनझटबाट मुक्त भई अब घरमा नै बसेर न्याय पाउने हुनु भएको छ । पीडित पक्षलाइ थप पीडाहुन नदिन जिल्ला प्रहरी कार्यालय झापाले ‘पीडितको साथी ’ कार्यक्रम सञ्चालनमा ल्याएपछि पीडितलाइ राहत मिल्ने भएको हो ।
कार्यालयले शुरु गरेको अभियानमा जिल्ला ,इलाका क र ख,वडा, सीमा,चौकी,अस्थायी प्रहरी चौकी गरी ६२ तथा ट्राफिक तर्फ १७ ओटा गरी ७९ वटा इकाइमा एक÷एक पीडितको साथी नियुक्ती गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी मातहातका ५४ जना प्रहरी कर्मचारीलाइ जिल्लाका एसपी भीमप्रसाद ढकालले तालिम दिएपछि यो अभियान कार्यान्वयनमा आएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय पीडित पक्ष झन पीडित भएको अवस्थालाइ ध्यानमा राखेर यो कार्यक्रम सञ्चालनमा ल्याइएको एसपी ढकालले बताए । पीडितले बारम्बार प्रहरीमा धाउनु पर्ने बाध्यतालाइ हटाउन अभियानले सहयोग पुग्ने उनले जनाए ।
पीडामा परेको पक्ष वा व्यक्ति लाइ पायक पर्ने प्रहरी कार्यालयमा आइ निवेदन दिने वा प्रहरील सहयोग गरेपछि अभिलेख राखी प्रगतीका बारेमा टेलीफोन मार्फत जानकारी गराइने उनको भनाइ छ ।
यो अभियानले पीडितको शारिरीक, मानसिक ,आर्थिक लगायतमा सहज हुने उनले दाबी गरे ।
पीडितको साथी प्रहरी लेखिएको भोटो लगाई प्रहरी कार्यालयमा बस्ने र आउने पीडितहरुको छुट्टै अभिलेख राखि समस्या समाधानको लागि गरिएका प्रयास तथा अनुसन्धान प्रगति विवरण फोन गरी जानकारी गराउने प्रहरीको काम भएको उनले बताए । सुरक्षाको प्रत्याभुती दिलाई पीडितलाई न्याय पाउने कुरामा आश्वस्त पार्ने र पीडितलाई पटक– पटक कार्यालयमा धाईरहनु पर्ने वातावरणको अन्त्य गर्ने उद्देश्यले कर्मचारीलाइ तालिम दिएको उनले जनाए ।
चालु आर्थिक वर्ष देखि भदौसम्म दरखास्त २ सय ८१ तथा विभिन्न समस्या र घटनाको ठाडो निवेदन १८ सय ६५ दर्ता भएको छ ।
असोजको दोस्रो हप्तासम्म २३ ओटा जाहेरी दरखास्त र ठाडो २ सय ४३ निवेदन परेको छ भने २ सय ७७ पीडितको सङ्ख्या रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।











प्रतिक्रिया