प्रकृतिको कुचिकार गिद्धको संख्यामा बृद्धि



किरन धामी, दार्चुला ।
प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्ध संरक्षणको अभावमा संकटमा परेका बेला दार्चुला जिल्लामा भने यसको संख्यामा बृद्धि भएको छ । केही वर्ष अघि कहिलेकाही मात्रै देखा पर्ने गिद्ध अहिले प्रसस्त मात्रामा देखीन थालेका छन् । जिल्लामा गिद्धको संख्या कति छ भनेर गणना नभएको भए पनि विगतमा विरलै देख्न पाइने गिद्ध अहिले ३ सय देखी ६ सय मिटरको उचाईमा जताततै देख्न पाइन्छ ।

खास गरी अपीनाम्पा संरक्षण क्षेत्र भित्र हिमाली गिद्धको संख्यामा बृद्धी भएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । पुर्वी तथा मध्य नेपालमा लोपोन्मुख अवस्थामा रहेको हिमाली गिद्धको संख्या दार्चुलामा भने राम्रै रहेको कार्यालय निमित्त प्रमुख संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए । प्रयाप्त आहारा, वासस्थान संरक्षण तथा पशुमा डाईक्लोफेनेक नामक औषधिको प्रयोग नगरिनु लगायत कारणले दार्चुलामा हिमाली गिद्धको संख्यामा बृद्धी भएको उनको भनाई छ ।

जिल्लामा यस अघि गिद्धको बारेमा कुनै अध्ययन अनुसन्धान नभएको अन्य गिद्धका प्रजाती तथा संख्याको बारेमा यकीन भन्न नसकिने उनले बताए । तर यस वर्ष भने गिद्धको अध्ययनका लागी बजेट समेत विनियोजन भएको निमित्त प्रमुख अधिकारीले बताए । गिद्धको संख्यामा बृद्धी भए संगै गाउँ घरमा फालिएको सिनो खाएर वातावरण सफा सुग्घर बनाउने गरेको दुहुँ गाउँपालिका वडा नम्बर २ का स्थानीय दिलानन्द जोशीले बताए । तर गिद्ध लोपोन्मुख प्रजाती भएको तथा संरक्षण बारे कुनै निकायबाट कार्यक्रम सुरु नभएको उनले बताए ।

नेपालमा हाडफोर, सेतोगिद्ध, डंगर, सानोखैरो गिद्ध, हिमाली गिद्ध, खैरोगिद्ध, राजगिद्ध, सुनगिद्ध र लामोठुँडे गिद्ध गरि ९ प्रजातीका गिद्धहरु पाइने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका निमित्त प्रमुख पशुपति अधिकारीले बताए । डंगरगिद्ध, सानोखैरो गिद्ध, सुनगिद्ध र लामो ठुँडेगिद्ध अति संकटापन्न अवस्थामा रहेका छन्, भने सेतो गिद्ध र हिमाली गिद्ध पनि संकटापन्न उन्मुख रहेको छ ।

डाइक्लोफेनेक नामक औषधिको प्रयोगबाट मृत्यु भएका पशुहरुको सिनो गिद्धले खाएपछि मृर्गौला फुटेर मर्ने लगायत प्रजनन क्षमतामा ह्रास आउने हुँदा गिद्ध लोप हुने अवस्थामा पुगेका हुन । पछिल्लो समय देशका अधिकांश जिल्ला डाइक्लोफेनेक मुक्त घोषणा भैसकेपछि गिद्धको संख्यामा विस्तारै वृद्धि हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्