बलात्कारीलाई फाँसि दिने माग राख्दै इलाममा विरोध प्रदर्शन



गणेश घिमिरे, इलाम ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा इलाममा पनि सोमबार प्रर्दशन भएको छ । देशभरी नै महिला हिंसा तथा बलात्कारको घटना बढेको भन्दै इलाममा महिला जागरण संघ र महिला उद्यमी बिकास एकाईको अगुवाईमा इलाम बजारमा बिरोध प्रदर्शन गरेको हो ।

कञ्चनपुरलगायत देशका विभिन्न भागका बालबालिकाहरु एकपछि अर्को हिंसामा परेको भन्दै जिल्लामा अधिकारकर्मी तथा अभियन्ताहरुले कालोपट्टी बाँधेर रयालि सहित प्रदर्शन गरेका हुन् । सदरमुकामको ठूलो टुडिखेलबाट सुरु भएको र्यालिले नगरको बिभिन्न भागको परिक्रमा गरेर चोकबजारमा कोणसभा गरेको थियो । महिला तथा बालबालिका प्रति बढी रहेको यौनहिंसा लगायतका घटनाहरुप्रति सरकार संवेदनशील नबनेको प्रर्दशनमा सहभागी भएकाले बताए । महिला अधिकारकर्मी तथा संघकि अध्यक्ष बिष्णु दाहालले यस्ता जघन्य घटनाहरुप्रति सरकार जिम्मेवार बन्नुपर्ने तथा दोषीलाई कारवाही गर्न ढिलो गर्न नहुने बताइन् । देशमा बढेको महिला हिंसाको घटनाका कारण बालिका तथा किशोरीहरुमा डर फैलिएको उनको भनाई थियो ।

महिला हिंसा गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने तथा बलात्कारीलाई फाँसि दिनुपर्ने तथा देश निकाला गर्नुपर्ने जस्ता माग प्रदर्शनका क्रममा महिलाहरुले गरेका थिए । उनीहरुले निर्मला पन्तको वास्तविक हत्यारालाई छिटोभन्दा छिटो सार्वजनिक गरी कानुनी कार्वाहीको माग गरे । गत साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शब फेला परेको थियो । घटना भएको लामो समय हुँदासमेत प्रहरीले हत्यारा पत्ता नलगाएको बिरोध प्रदर्शनमा उत्रिएकाले आक्रोश पोखे ।

र्यालिमा सहभागि महिला जागरण संघका कर्मचारी कमला राया घिमिरेले बलात्कारको घटना देशभर वृद्धि भइरहँदा पनि सरकार भने अपराधिलाई पक्रन नसक्नु सरकारको लाचारीपन भएको बताइन् । उनले भनिन् ‘बलात्कारीलाई फाँसि दिने सजाय भए यस्ता बलात्कारका पक्कै पनि घट्नेछ ।’ बिरोध र्यालिमा निर्मलाका निम्ति न्याय, बलात्कारको घटनाको अन्त्य गर, दोषीलाई कारवाही गर, बलात्कारीलाई फाँसि दे लेखिएका प्ले कार्ड बोकेका थिए । र्यालिमा महिला अधिकारकर्मी सहित राजनैतिक दलका नेता तथा कार्यकर्ता, बिद्यार्थी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्