-रश्मी थापा
फाइटरदेखि सहायक द्वन्द्व निर्देशकसम्म र द्वन्द्व निर्देशकदेखि निर्देशकसम्मको सफल फिल्मी यात्रुको नाम बनेका छन् हिमाले केसी। केही समययता द्वन्द्व निर्देशकका रूपमा एकछत्र राज गरिरहेका हिमाल केसीले फाइटर ब्वाइको रूपमा आफ्नो करिअरको शुरुआत गरेका थिए। २०४७ सालमा १५ वर्षको उमेरमा भिडियो फिल्म प्रेम दीपमा फाइटरका रूपमा खेलेका उनी त्यसपछि प्रेम पूजा, दुस्मनलगायत सयभन्दा बढी फिल्ममा फाइटरकै भूमिकामा देखिए। यही क्रममा सहद्वन्द्व निर्देशक हुँदै नुमाफुङबाट द्वन्द्व निर्देशकका रूपमा आफूलाई प्रस्तुत गरे। फिल्म मर्यादाबाट उनी व्यवसायिक फिल्मका द्वन्द्व निर्देशकको रूपमा अगाडि आए।
सानैदेखि फिल्ममा रुचि राख्ने हिमालले द्वन्द्व निर्देशक एनबी महर्जनसँग भेट भएपछि उनकै माध्यमबाट फाइटर हुँदै उनले सहद्वन्द्व निर्देशकका रूपमा काम गर्न थालेका थिए। ‘कक्षा १० पढ्दै गर्दा १ जना साथीसँग घुमघामका लागि बालाजु गएको थिएँ। त्यो बेला एनबी गुरुको मोटरसाइकल बिग्रिएकाले बसमा यात्रा गर्नुभएको रहेछ। बसमै मैले पनि फिल्ममा काम गर्न इच्छा भएको सुनाएपछि उहाँले मसँगै हिँड भन्नुभयो र उहाँको केयर टेकरका रूपमा पछि लागेर आज म यहाँसम्म आइपुगें’ –हिमालले सुनाए।
हिरो बन्ने सोचले फिल्म क्षेत्रमा आए पनि द्वन्द्वमा काम गर्दै जाँदा यसैमा प्रगति गर्दै गएको उनी बताउँछन्। ‘त्यतिबेला एनबी गुरुलाई खुसी पार्न र अरूभन्दा एक्स्ट्रा देखिनका लागि बिनासेफ्टी खाली जमिनमा लड्ने, गुड्दा गुड्दैको बाइकमा लड्ने, हिरोले हिर्काउँदा काँडा ढुंगा केही पनि नभनी लड्ने गरेर आफूले दिन सक्ने सिन गरिन्थ्योु’, हिमाल सुनाउँदै थिए– ‘यसो गर्दाखेरी गुरुको आँखामा परिन्छ र लामो सिन पाइन्छ कि भन्ने लाग्थ्यो। स्टन्ट गर्दा २ चोटी ठूलै एक्सिडेन्टमा परियो। अञ्जुली नामक फिल्ममा कार उडाउँदा घाँटीको नसामा झड्का परेर अहिले पनि समस्या छ।
मैले पहिलो पटक नेपालमा कार स्टन्ट गरेको थिएँ। त्यस्तै एकपटक देब्रे हात नै भाँचिएकाले १ महिना रेस्टमा बस्नुप¥यो। आफन्त फिल्मको सेटमा कारको सिसा ब्रेक गर्दा टाउकोमा गहिरो चोट लाग्यो। खासमा सुटिङ सेटमा जाँदा नयाँ जोस जाँगर र सोचका साथ गइएको हुन्छ, तर स्टन्ट गर्दा कुन बेला के हुन्छ भन्न सकिँदैन।’ १ सय ९० नेपाली फिल्ममा द्वन्द्व निर्देशन र ४० भन्दामाथि भोजपुरी फिल्ममा काम गरेका हिमाल सुरक्षाको हिसाबमा भारतीय फिल्म उद्योग दोब्बर सुरक्षित रहेको बताउँछन्। ‘बलिउडका भोजपुरी फिल्ममै पनि भुइँमा लड्नु परे पनि फोम बिच्छयाउँ भन्छन्, तर यहाँ त्यस्तो छैन, म खाली भुइँमा लडेको देख्दा यसरी लड्दा दुख्दैन? तिमीहरू के खान्छौ भनेर सोध्थे’, हिमालले सुनाए– ‘हाम्रा गुरुले पनि यसै गर्दै आउनुभएको छ, गुरुहरूलाई त केही भएको छैन। हामीलाई के हुन्छ र ? भन्ने हिसाबले काम गरिन्थ्यो।’
२०३२ सालमा ललितपुर महानगरपालिकामा जन्मिएका हिमाललाई बुबाआमाले आर्मीमा जागिर खुवाउन चाहन्थे। फिल्म क्षेत्रमा लागेको शुरुआती दिनमा आफूलाई यो क्षेत्रबाट टाढा गराउन बुबाआमाले गरेको प्रयास सम्झँदै उनी भन्छन्– ‘मै फिल्म क्षेत्रमा लाग्दा कति दिनसम्म मलाई घरमा खान पनि दिनुभएन। हजुरबुबा आर्मीमा मेजर हुनुहुन्थो, बुबा टिचर हुनुहुन्थ्यो। मलाई उहाँहरू आर्मीमा जागिर खुवाउन चाहनुहुन्थ्यो, तर म इन्टे«स्ट नभएकाले गइनँ।’ हिमालले भने– ‘तर अहिले उहाँहरू मलाई एक्लै लडेर पनि जित्ने हिमालजस्तो हुनुपर्छ भनेर अरूलाई उदाहरण दिनुहुन्छ।’
द्वन्द्व निर्देशन गर्दागर्दै हिमालले पिँजडा ब्याक अगेन निर्देशन गरे। द्वन्द्व निर्देशकले निर्देशन गरेको फिल्म द्वन्द्वले नै भरिएको होला भन्ने आम दर्शकको अपेक्षाविपरीत उनले भने पिँजडा ब्याक अगेनलाई प्रेममय फिल्म बनाइदिए। ‘हिमाल केसीले द्वन्द्व निर्देशन गरेको एक्सन मुभि राम्रो हुन्छ भन्ने सबैलाई थाहा छ, तर हिमालले पारिवारिक सेन्टिमेन्टल लभ स्टोरी फिल्म पनि गर्न सक्छ भन्ने सावित गर्दै पिँजडा ब्याक अगेन बनाएँ।
दर्शकले पिँजडा ब्याक अगेन हेर्दा भयंकर एक्सनको एक्सपेक्टेसन राख्नुभएको रहेछ, तर फिल्म ठीक अपोजिट भएकोले एक्सन डाइरेक्टरले पनि यस्तो खालको फिल्म गर्न सक्दो रहेछ, उसमा पनि सेन्टिमेन्ट रहेछ भन्ने कुरा दर्शकले बुझ्नुभयो’, हिमाल भन्छन्– ‘अहिले मैले गरिरहेको एक्सन डाइरेक्सन बल छउञ्जेलको लागि मात्र हो। त्यही कारण पनि फिल्म निर्देशनमा हात हालेको हो।’ अर्को कुरा फिल्म भैरव हिट भइरहेको बेला निखिललाई लिएर एउटा फिल्म बनाउने सोच लेखक साथी मौनता श्रेष्ठको थियो। ‘निर्देशन अरूलाई किन दिनु तिमी नै गर भनेपछि म साथीभाइलाई सहयोग गर्ने हिसाबले निर्देशनमा अघि बढेको हो’, हिमालले थपे– ‘तर एक्सन मेरो पहिलो प्राथमिकता भएका कारण अब केही समय फिल्म निर्देशनमा आउँदिनँ। अब रिटायर्ड लाइफमाचाहिं कुर्सीमा बसेर एक्सन कट भनौं कि भन्ने लागेको छ।’
आफूले फाइटर भएर काम गर्दादेखि अहिले पनि फाइटरको कमाइ सन्तोषजनक नभएको हिमाल बताउँछन्। ‘त्यतिबेला म जुनियर भएकाले एउटा फिल्मको ५ सयदेखि हजारसम्म पाउँथे। सिनियरले हजारदेखि १५ समयसम्म पाउँथे। त्यतिबेला त्यो रकम ठीकै थियो। अहिले पनि फाइटर पीडित नै छन्। आउट अफ भ्याली गयो भने उनीहरूले एउटा फाइटको ५ हजार र क्लाइमेक्सको ६ हजार पाउँछन्। भ्यालीमाचाहिँ ४ हजार र ५ हजार पाउँछन्। त्यसमा पनि सुटिङमा ढिला भयो भने उनीहरूलाई घाटा हुन्छ’ –उनी भन्छन्।
द्वन्द्व निर्देशनबाटै यो विधाको अधिकांश फिल्म अवार्ड चुम्दै आएका हिमालले गत वर्ष फिल्म भैरवबाट अधिकांश अवार्ड आफ्नो बनाएका थिए। उनी अवार्डलाई सम्मानका साथमा चुनौतीको रूपमा लिन्छन्। ‘मलाई दिएको अवार्डलाई म चुनौती र हौसलाका रूपमा लिन्छु। मेरो मेहेनतलाई सम्मान गर्दै पछिल्लो समय भैरवबाट नेपालमा भएका सबै अवार्डले मलाई नै सम्मान गरिदिनुभयो’ –उनले भने । उनले कामना फिल्म अवार्ड, डी सिने, एलजी सिने सर्कलजस्ता अवार्डलाई आफ्नो बनाएका थिए।
प्रतिक्रिया