१३ लाख भारतीय रुपैयाँसहित एक नेपाली युवा पक्राउ

0
Shares

भद्रपुर ।
पूर्वी नेपालको नाका काँकडभिट्टामा केही दिन यताबाट अवैध कृयाकलापका घटनाले उग्ररुप लिइरहेको छ । नक्कली नेपाली नोटको घट्ना भइरहेको समयमा फेरी प्रहरीले भारतीय रुपैयाँ १२ लाख ८० हजार सहित एक नेपाली युवालाइ सोमबार बिहान पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टा र भन्सार टोलीले चेकपोईन्टमा गरेको चेकजाँचको क्रममा मानिससहित रकम फेला पारेको हो । भारतबाट कालो झोलामा राखेर नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा शङ्का लागि एक्–स्रे मेसिनमा राखेर हेर्दा कागज पत्र जस्तो देखिने बस्तु फेला परेको थियो । प्रहरीले घटनामा काठमाण्डौ ललितपुरका ३२ वर्षीय रमेश बज्राचार्यको साथबाट सो रकम बरामद गरेको सशस्त्र गुल्मले जनाएको छ ।
झोलाभित्र राखिएको २०० को ४९ बण्डल,१००को २० बण्डल र ५० को २० बण्डल नोट रकम बरामद गरिएको गुल्मका डिएसपी राजेश घिमिरेले जानकारी दिए ।
बरामद गरिएको नोट भन्सार सँगको सहकार्यमा आवश्यक कारबाहीका लागि तत्काल राजश्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको डिएसपी घिमिरेले बताए ।
काँकडभिट्टा नाकादेखि ७ किलोमिटर उत्तरमा रहेको भारतीय नक्सलबाडी बजार क्षेत्रबाट भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले केही दिनअघि मात्र नेपाली एक हजार दरका आठ सय थान अर्थात आठ लाख नेपाली नक्कली नोटसहित मनोज आचार्यलाई पक्राउ गरेको थियो । चालु आर्थिक वर्षको साउन २९ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ५० हजार नक्कली नेपाली नोटसहित भारत पश्चिम बंङ्गाल राज्यस्थित दार्जिलिङ जिल्ला सिलगुढीका ४० वर्षीय शतीश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई पक्राउ गरिसकेको छ ।