मासिक १५ हजार किस्तामा मेगा बैंकले अटो लोन दिने

0
Shares

काठमाडौं, (नेस) मेगा बैंक नेपाल र नारायणी अटो विजनेस प्रालिबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।
नारायणी अटो विजनेस प्रालिबाट गाडी किन्न चाहने ग्राहकलाई मेगा बैंकले सरल, सहज र शुलभ दरमा १० वर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो विजनेस प्रालिका तर्फबाट प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार नारायणी अटो विजनेस प्रालिबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकले १० वर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो लोन लिन सक्नेछन् । प्रक्रिया शुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ कार्य दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

यसैबीच मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतामा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी)का कायममुकायम सीईओ अविजित घोष दस्टीदरले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एलआईसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानीलगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।