वाइडवडी विमान खरिदबारे छानविन अगाडि बढ्न सकेन

0
Shares

काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमको खरिद गरेको दुई वटा वाइडवडी विमान खरिदमा अनियमिता भएको आशंकामा गठित छानविन समितिले काम अगाडि बढाउन नसेकको गुनासो गरेको छ । समिति गठन भएको एक साता बितिसक्दा पनि विमान खरिदसम्बन्धी काजगपत्र प्राप्त गर्न नसकेको समितिका पदाधिकारीले गुनासो गरेका छन्।

दुई वटा वाइडवडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसद र सडकमा आवाज उठेपछि संस्कृति तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो ।

‘हामीले पहिलो मिटिङमा नै खरिद प्रक्रियाका कागजात मगाउने निर्णय गरेका छौं । तर, निगमले छानविनको लागि पर्याप्त सहयोग गरेको छैन,’ आचार्यले भन्नुभयो–‘निगमले खरिद गरेको विमानको कागजी प्रक्रिया छानविन समितिले मागेको भए पनि हालसम्म उपलब्ध गराएको छैन ।’

१५ दिनको समय पाएको समितिले काम थालेको भए पनि विमान खरिदको डकुमेन्ट समितिले नपाएकाले समयमानै प्रतिवेदन बुझाउन कठिन रहेको आचार्यको भनाइ छ।

समिति गठन भएको एक हप्ता पँरा भइसकेको छ । समितिमा निगमकै सञ्चालक समितिका सदस्यसचिव अशोक सिग्देल, नागरिक उड्डयन प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य, निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त रहनु भएकोछ ।

२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनमार्फत् ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । दुवै विमानले व्यावसायिक उडान शुरु गरेका छन् ।