महाशीलामा एक घर एक टनेल

0
Shares

पर्वत ।
विपन्न घरपरिवारलाई आत्मनिर्भर बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले ‘एक घर एक टनेल’ कार्यक्रम शुरु गरेको छ ।

सो गाउँपालिका वडा नं ५ लुङ्खुका ४० सक्रिय किसानलाई टनेल वितरण गरेर घरघरै तरकारी उत्पादन गर्ने कार्यक्रम थालिएको हो । चालु आर्थिक वर्षमा रु ३३ लाख बजेट विनियोजन गरेर महाशीलाका ६ वडाका आधा घरधुरीमा घरघरै टनेलमा तरकारी लगाउन गाउँसभाले निर्णय गरेको हो ।

निर्णय बमोजिम प्लास्टिक टनेल खरिद गरेको महाशीलाले तरकारी लगाउने मौसम छोप्न समयमै टनेल वितरण गरिएको जनाएको छ । “अब रायो, मुला, काउली, धनियाको मौसम शुरु भइसक्यो”, महाशिलाका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष जीवनविक्रम उचै ठकुरीले भन्नुभयो, “व्यावसायिक किसानलाई समयमै काम शुरु गर्ने गरी टनेल बाँडिएको हो ।” पहिलो चरणमा टनेल लगेका सबै किसानले टनेल बनाएर तरकारी लगाउन शुरु गरेपछि अरू किसानलाई वितरण गरिने उहाँले बताउनुभयो ।

टनेल लगेका किसानले मौसमअनुसारका तरकारी लगाएर नयाँ किसानलाई प्रशिक्षण दिन गाउँपालिकाले निर्देशन दिएको छ । “हामीले टनेलमा तरकारी लगाएपछि छिमेकीलाई तरिका सिकाउनुपर्छ,” व्यावसायिक किसान चिन्तामणि पौडेलले भन्नुभयो, “टनेलभित्र तरकारी लगाउन बाहिरभन्दा अलि कठिन हुन्छ । ।” यसअघि टनेलमा व्यावसायिक तरकारी लगाउँदै आउनुभएका उहाँले एउटा टनेलबाट वर्षमा रु दुई लाखसम्म आम्दानी हुने बताउनुभयो ।

गाउँपालिकाले एक महिनाभित्र सबै वडामा टनेल वितरण गर्ने लक्ष्य राखेको छ । गाउँसभाको निर्णय बमोजिम खरिद गरिएका टनेल हिउँदे तरकारी लगाउने मौसमसम्म वितरण गरिसक्ने लक्ष्य रहेको अध्यक्ष राजु पौडेलले बताउनुभयो । “यही हिउँदे सिजनमा सबै किसानले तरकारी फलाउन् भन्ने उद्देश्य हो, त्यसका लागि व्यावसायिक तालीममा जुटेका छौँ,” उहाँले भन्नुभयो ।

किसानलाई सैद्धान्तिक, कृषि, प्राविधिक र प्रयोगात्मक प्रशिक्षण अनुभवी किसानबाटै दिने योजना छ । किसानलाई चक्रीय प्रणालीमा खेती लगाउने गरी यसअघि नै गाउँपालिकाले १०÷१० जनाको समूह बनाएर तरकारी लगाउने तयारी गरेको छ । त्यसको लािग तरकारीको जातअनुसारको पकेट क्षेत्र निर्धारण गरिने प्रवक्ता ठकुरीले बताउनुभयो । हरेक समूहले छुट्टाछुट्टै तरकारी लगाउनुपर्ने नियम बनाइएको छ । ‘एउटै तरकारी हुँदा बिक्रीमा समस्या हुन्छ भनेर यस्तो व्यवस्था गरिएको हो, यसले तरकारी बिक्री सहज हुन्छ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाका किसान बाँदरबाट हैरान परेका बेला टनेल योजना सफल हुनेमा स्थानीय शङ्का व्यक्त गर्छन् । “जस्तोसुकै योजना ल्याए पनि बाँदरले गरिखान दिँदैन”, भोक्सिङका नरजङ्ग गुरुङले भन्नुभयो, “पहिला बाँदर नियन्त्रण गरेर मात्रै अरू काम गर्दा राम्रो होला ।” गाउँपालिकाले भने चालु वर्ष नै बाँदर नियन्त्रण हुने दाबी गरेको छ । “हामीले बाँदर नियन्त्रणको योजना ल्याइसकेका छौँ, अध्यक्ष पौडेलले भन्नुभयो । गाउँपालिकाका सबै बाँदर छोपेर बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज पठाइने उहाँले बताउनुभयो ।
रासस