बनारसबाट सिफ्ट गरेका महिला दिल्लीमा भेटिए

0
Shares

बाँके । भारत हुँदै खाडी जान थालेका १६ जना नेपाली महिलालाई उद्धार गरी नेपालगञ्ज ल्याइएको छ ।

दिल्ली महिला आयोग, नेपाली दुताबास, भारतीय प्रहरी र रेस्क्यू फाउण्डेसनले दिल्लीको मैदानगढी भन्ने ठाउँबाट उद्धार गरिएका १६ जना नेपाली महिलालाई नेपालगञ्ज ल्याइएको हो । दिल्ली महिला आयोगको अगुवाईमा छापा मार्दा साथमा रहेका माइती नेपाल, नेपालगञ्जका क्षेत्रीय संयोजक केशव कोइरालाले १६ जना नेपाली महिलालाई लिएर आएका हुन् ।

छापा मारेर बाँके, दैलेख, दाङ, पाल्पा, नवलपरासी, भैरहवा, मोरङ र झापाका महिलाको उद्धार गरिएको थियो । भारत हुँदै खाडीमुलक जान थालेका महिलालाई दलालले एक ठाउँमा जम्मा पारेर राखेको थियो ।

उद्धार गरिएका १६ जनामध्ये ६ जना बनारसमा बन्धक बनाइएका महिला छन् । बनारसमा बन्धक बनाएर राखिएका महिलाका बारेमा सूचना चुहिएपछि दलालले उनीहरुलाई रातारात दिल्ली सिफ्ट गरेको थियो । तीमध्येका दैलेखकी महिलाले बनारसमा चार दिन राखेर दिल्ली पु¥याएको खुलासा गरिन् ।

बनारसमा डेढ सय नेपाली महिलालाई बन्धक बनाएको भन्दै बर्दियाकी महिलाले घरमा फोन गरेर जानकारी दिएपछि प्रहरी, प्रशासन र माइती नेपालमा उजुरी परेको थियो । उजुरी परेको कुरा थाहा पाएर दलालले ती दुई महिलालाई फिर्ता गरिदिएका थिए । पछि बर्दिया प्रशासन र प्रहरीको टोली ती महिलालाई लिएर बनारस पुगेको थियो । त्यतिबेलासम्ममा दलालले कोठा सारिसकेका थिए ।

नेपालगञ्ज ल्याइएका १६ जनामध्ये पाँच जनालाई यही राखेर अन्यलाई भैरहवा र काठमाडौं पठाइएको माइती नेपाल, नेपालगञ्जका प्रमुख कोइरालाले बताउनुभयो । नेपाली महिलाहरु स्वेच्छाले भारत हुँदै खाडीमुलुक जान थालेका थिए । यद्यपि, भारतबाट खाडीमुलुक जान पाइदैन ।

दिल्ली महिला आयोगले पटक–पटक छापा मारेर ७३ जना नेपाली महिलाको उद्धार गरेको थियो । तीमध्ये धेरैजना काठमाडौं हुँदै फर्किसकेका छन् ।