खिमचोक गाउंँका ३२ परिवार विस्थापित

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङको दोर्दी गाउँंपालिका–८ मा भएको पहिरोका कारण जोखिम बढेपछि ३२ घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासनले उनीहरूका लागि अस्थायी बसोबास गर्ने प्रवन्ध गरेको जनाएको छ ।

दोर्दी गाउँंपालिका– ८ को खिमचोक जल्गेनी सडक भासिइ जोखिममा पर्न गएको खिन्चोक जल्गेनी गाउंँको सम्बन्धमा प्राप्त प्राविधिक प्रतिवेदन समेतको आधारमा जिल्ला विपद व्यवस्थापन समितिले तत्काल अस्थायी बासस्थानको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी, आर.सि.डि.सी समेतका गैरसरकारी संस्थाको सहयोगमा जोखिममा रहेका परिवारलाई तत्काल अस्थायी बासस्थान व्यवस्था गर्न बालकल्याण माध्यामिक विद्यालय नजिकको खाली स्थान उपलब्ध गराइदिन दोर्दी गाउँंपालिकालाई अनुरोध गरिएको प्रजिअ ढकालले बताउनु भयो ।

उहाँका अनुसार ती परिवारलाई तत्कालका लागि अस्थायी आश्रयस्थल निर्माण गर्न प्रतिपरिवार २ वण्डलका दरले जस्तापाता, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय समेतको व्यवस्था गरिदिन आरसीडीसी लमजुङ मार्फत् वल्र्ड भिजन इन्टरनेशनललाई अनुरोध गरिएको छ ।

उक्त कार्यका लागि प्राविधिक सहयोग शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय लमजुङले गर्ने र अन्य कार्यमा सहयोग र समन्वय नेपाल रेडक्रस सोसाइटीलाई काम गर्नका लागि जिल्ला विपद व्यवस्थापन समितिले निर्णय समेत गरी सो कार्य गरेको प्रजिअ ढकालले जानकारी दिनु भयो ।