मकवानपुरका १ सय २४ गुम्बामा क्षति

0
Shares

हेटौंडा, (नेस)
२०७२ को भुकम्पले मकवानपुरका १ सय २४ वटा गुम्बामा क्षति पुगेको छ । ती गुम्बाको पुनर्निर्माणमा जोड दिइएको छ । भुकम्पप्रभावित गुम्बाबिहार पुनर्निर्माणमा भएको गतिरोध अन्त्यका लागि हेटौंडामा गरिएको अन्तत्र्रिmयामा यस्तो जानकारी दिइएको हो ।

गुम्बाबिहार संरक्षण संघ मकवानपुर अध्यक्ष निरु थिङले पुनर्निर्माण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । २९ जिल्लामा रहेका झण्डै १ हजार ३ सय बढी गुम्बाबिहार भुकम्पले क्षतिग्रस्त भएकोले उक्त गुम्बाबिहार पुनर्निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो । मकवानपुरलगायत जिल्लामा १ हजार गुम्बाविहार पुनर्निर्माण गर्नुपर्ने अध्यक्ष थिङले बताउनुभयो ।

सिन्धुपाल्चोकमा २ सय ३, काभ्रेमा १ सय १३, नुवाकोटमा १ सय १३, गोरखामा ९६, दोलखामा ८७, धादिङमा ८५, रामेछापमा ८३, चितवनमा ५६, काठमाडौंमा २४, ललितपुरमा १६, भक्तपुरमा ३ वटा गुम्बाबिहारमा क्षति पुगेको थिङले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्र पर्ने क्षतिग्रस्त गुम्बाबिहार पुनर्निर्माणमा सहजता ल्याउने बताउनुभयो । आफ्नो कला सँस्कृति, चाडपर्वअनुसार गुम्बाबिहार पुनर्निर्माणमा प्रदेश सरकार लागिपर्ने मन्त्री जम्कट्टेलले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, ओम घलान, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ, पूर्वसांसद् राजाराम स्यांतान, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश संयोजक काजीमान थिङ तामाङ, तामाङ घेदुङ केन्द्रीय सदस्य सुनिल मोक्तान, जनजाति महासंघ मकवानपुर पूर्वअध्यक्ष बुद्ध लामा, स्थानीय तहका जनप्रतिनिधि, लामा गुरुहरु लगायतको उपस्थिति थियो ।