नेपाल समाचारपत्र, हेटौंडा
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चितवनका विभिन्न स्थानबाट असार २५ गते बरामद गरेका चोरीका सवारीसाधनमध्ये ३ वटा मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ ।
प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले ती मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । काठमाडौं पेप्सीकोलाबाट हराएको कालो रंगको १५० सीसीको पल्सर र काठमाडौंकै ठमेलबाट हराएको २०० सीसीको कालो÷रातो रंगको एनएस पल्सर तथा पोखराबाट हराएको कालो÷रातो रंगको २०० सीसीको एनएस पल्सर मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।
हरिबहादुर थापाको पेप्सीकोलाबाट हराएको बा. ९४ प ७२९१, पवनकुमार सिंहको काठमाडौंबाट हराएको बा८८प २६३८ र विभोर दंगालको पोखराबाट हराएको बा९४प ७५९ नम्बर मोटरसाइकल उहाँहरुलाई हस्तान्तरण गरिएको छ ।
विभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल भरतपुरका विभिन्न अस्पताल कम्पाउण्डमा वास्तविक नम्बर परिवर्तन गरी बेवारिस अवस्थामा पार्किङ गरिराखेको अवस्थामा क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ६ वटा मोटरसाइकल र एउटा बोलेरो गाडी नियन्त्रण लिएको थियो । बरामद भएका अन्य मोटरसाइकलको भने हालसम्म वास्तविक धनी खुल्न सकेका छैनन् ।











प्रतिक्रिया