काठमाडौं । (नेस) । स्वीडेनको स्टकहोम नगरकी उपप्रमुख एन मार्गरेटको नेतृत्वमा आएको महिला अधिकारकर्मीको टोलीले स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका अधिकारी, सामाजिक तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गरेको छ ।
टोलीले मंगलबार काठमाडौं महानगरपालिका का प्रमुख र उपप्रमुखसँग भेट गरी स्थानीय सरकार सञ्चालनमा महिला शशक्तिकरणका अवस्थाका बारेमा छलफल गरेका थिए ।
छलफलको क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीतिगत रुपमा महिलाको स्थान सम्मानजनक ठाउँमा रहेको बताउँदै, प्राप्त जिम्मेवारी वहन गर्न सक्ने क्षमता विकासको क्रममा रहेको जानकारी गराउनु भएको थियो ।
त्यस्तै उपप्रमुख हरिप्रभा खड्गीले नेपालको शासनमा महिलालाई ठाउँ दिइएको तर, उपस्थितिलाई स्वतःस्फूर्त स्वीकार नगरिएको अवस्थाका रुपमा टिप्पणी गर्नुभयो ।
भेटका अवसरमा नेपाल भ्रमणका क्रममा आफूले बुझेको कुरा सुनाउँदै स्टकहोम नगरकी उपप्रमुख मार्गरेटले, नेपालमा महिलाको अवस्था बलियो महसुस गरेको बताउनुभयो ।
परिवर्तन क्रमिक रुपमा हुने हो, प्राप्त अवसरलाई उपयोग गर्दै अगाडि बढ्नुपर्छ, उहाँको भनाइ थियो । सोही क्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीले, निश्चित समयसम्मको अभ्यासपछि परिणाम मुल्याङ्कन गर्न सहज हुने धारणा राख्नुभएको थियो ।
अखिल नेपाल महिला संघको निमन्त्रणामा आएको टोलीले धुलिखेल र नमोवुद्ध नगरपालिकाका प्रमुख र उपप्रमुखसँग छुट्टाछुट्टै भेटघाट गरिसकेको छ । । भ्रमणका क्रममा राष्ट्रिपति, पार्टीका विदेश विभागका पदाधिकारी, काठमाडौ जिल्लाका मेयर र उपमेयरसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।











प्रतिक्रिया