मधुसूदन रायमाझी, काठमाडौं
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो ।
प्रहरीले प्रवक्ता विश्वकर्मालाई उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरेको दावी गरेको छ । प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल्ला अदालत काठमाडौबाट म्याद थपेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ ।
विकसँगै उहाँका सहयोगी हरिचन्द्र आचार्य र गाडीका चालक मनबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेर मुद्दा चलाएको छ ।
नेकपाका नेता एकराज भण्डारीले प्रवक्ता विकको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मलाई बिना कारण हेडांैडाबाट काठमाडौंै आउँदै गर्दा टौदहमा पक्राउ गरेर अनावश्यक मानसिक टर्चर दिने, काम भयो, रातभर कालो माक्स लगाएर बुधवार मात्र मुखमा लगाएको पट्टी खोलियो, खान पनि दिइएन ।’
–रिहा गर्न आन्दोलनको चेतावनी
–चन्दा ऐन अन्तर्गत मुद्दा चलाइयो
प्रहरीले जबरजस्ती चन्दा असुली कार्यमा सहभागी भएको उजुरीको आधारमा चन्दा ऐनअन्तर्गत मुद्दा चलाइएको बताएको छ । चन्दा उठाएको प्रमाणको आधारमा विकलाई पक्राउ गरेको प्रहरी दाबी छ ।
प्रहरीले मंगलवार मध्यरातमा चाल्नाखेलस्थित महानगरीय प्रहरी प्रभाग अगाडि हेडौंडाबाट काठमाडौंतर्फ आइरहेको बा१४प २७२९ नम्बरको सवारी साधनमा प्रहरी प्रधान कार्यालयको विशेष टोली र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा विकसहित तीन जनालाई पक्राउ गरेको बताएको छ ।
प्रहरीका अनुसार उद्योगपति, व्यवसायी समेतबाट अवैध रुपमा करिब ७ करोड बराबरको रकम चन्दा असुली गरेको पाइएकाले चन्दा ऐन २०३० बमोजिमको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
चन्दा असुलेको ठहर भएमा चन्दा ऐन २०३० को दफा १३ मा चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूलउपर गरिने व्यवस्था छ ।
कालीकोटको मालकोटमा मध्यम वर्गीय दलित परिवारमा जन्मेका विक २०५२ सालदेखि माओवादीको पूर्णकालीन सदस्य बनेर जनयुद्धमा सहभागी हुनुभएको थियो ।
तत्कालीन माओवादी नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री समेत बन्नुभएका उहाँ माओवादी पार्टी विभाजनमा वैद्य समूहमा लाग्दै पुनः पार्टी विभाजन भएपछि विप्लवतिर लाग्नुभएको थियो ।
पार्टी गठन भएसँगै प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएका विश्वकर्माले २०४६ सालमा प्रचण्ड निकट अखिल नेपाल युवक संघबाट राजनीति शुरु गर्नुभएको थियो । प्रहरीले बुधबार नै उहाँको कपनस्थित डेरामा छापासमेत मारेको थियो ।
त्यसै गरी विप्लव नेतृत्वको माओवादीले पक्राउ परेका विकलाई तत्काल रिहा गर्न माग गरेको छ । विप्लवद्वारा जारी गरेको विज्ञप्तिमा प्रवक्ता विकलाई दक्षिणकालीबाट बिनाकारण गिरफ्तार गरेको दावी गरिएको छ ।
राजनीतिक विचारका आधारमा गरिएको कायरतापूर्ण गिरफ्तारी बन्द गर्न र गिरफ्तार गरिएका प्रवक्तासहित दुई जनालाई बिनासर्त रिहा गर्न माग गर्दै विप्लवले गिरफ्तार नेताहरु रिहाइ नभए सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ ।











प्रतिक्रिया