काठमाडौं, (नेस)
सरकारले सातवटा विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले संविधानसँग प्रतिकूल रहेका ऐन, कानुन संशोधनको कामलाई प्राथमिकता दिँदै आएको पृष्ठभूमिमा सो विधेयक संसद्मा प्रस्तुत गर्न लागेको हो।
विधेयकहरुमा नेपाल नागरिक ऐन २०६३, भुक्तानी तथा फछ्यौंट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक २०७५, उपभोक्ता हित संरक्षण सम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, संकाटापन्न वन्यजन्तु तथा वनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धी विधेयक पनि संसद्मा पेश गर्ने निर्णय गरेको छ । आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धी कानुन सरकारले बनाइसक्नुपर्नेछ ।











प्रतिक्रिया