धनवीर दाहाल, रुकुम । पत्थरीको उपचार गर्न चौरजहारी मिसन अस्पतालमा पुर्याइएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा तोडफोड गरेका हुन् । शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन् ।
पत्थरी र मृगौलाको समस्याबाट पीडित मल्ललाई आइतबार आफन्तले उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाएपछि चिकित्सकले उहाँलाई मृतक घोषणा गरेका थिए । मल्ललाई मृत घोषणा गरेपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पताल प्रशासक डिलबहादुर गोसाइका अनुसार मृगौला र पत्थरी समस्याबाट पीडित मल्लको उपचारकै क्रममा ज्यान गएको हो । अस्पतालमा झण्डै ५० जना बिरामी रहेको र मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दा बिरामी र अस्पतालका कर्मचारीको भागाभाग भएको छ । अस्पतालमा प्रहरी पुगेपछि स्थिती केही सामान्य भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया