भक्तपुर । गएराति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आइतबार मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।
भारी वर्षाका कारण ढुंगे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् । यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए । पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन् । पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ ।
राधे राधे क्षेत्रका विद्यार्थी विद्यालय जान पाएनन् । बासिन्दा घरबाट बाहिर ननिस्कँदा कार्यालयसमेत जान नपाएको स्थानीयवासी शर्मिला राईले बताए । नजीकै रहेको मन्टेश्वरीलगायत विद्यालय पनि बन्द भएका छन् । यहाँका होटल तथा रेष्टुरेण्ट बन्द भएका छन् । यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बन्द भएको छ । अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ ।











प्रतिक्रिया