शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबे

0
Shares

सोलु, सल्लेरी । शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी तालमा डुबेर बेपत्ता भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी शुक्रबार भ्रमणमा निस्केका थिए । तालमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अन्दाजी १७ वर्षीय पेम्बा दोर्जे शेर्पा, अन्दाजी १६ वर्षीय पेम्बा नुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ का अन्दाजी १६ वर्षीय सुनील बराइली रहेका छन् ।

घटनासम्बन्धी सूचना प्राप्त हुनासाथ सिम्रिक एयरको हेलिकप्टरमार्फत स्थानीयसहित प्रहरी चौकी खुम्जुङबाट खटिएको प्रहरी टोलीलाई प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक पराजुलीले जानकारी दिनुभयो ।

उक्त स्थानमा फोन सम्पर्कसमेत नहुँदा घटनाको थप विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

जिप दुर्घटनामा दुई बेपत्ता, उद्धारमा समस्या

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा आज साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन् । चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन ।

ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–६, वडाध्यक्ष तुलबहादुर जिसीका अनुसार घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्धारमा कठिनाई भएको छ । आइतबार बिहान ५ बजेदेखि नै उद्धार कार्य जारी राख्ने उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक दुई दिनदेखि बेपत्ता

पर्वत । कुश्मा नगरपालिका–९ कटुवाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।

कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल आज साँझसम्म घर फर्किएका छैनन् । विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उनका भाइ दिवाकर पौडेलले खोजीमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको छ ।

आज साँझसम्म आफन्तहरुकहाँ समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको निवेदक दिवाकर पौडेलले जानकारी दिनुभयो । उहाँले घर परिवारमा पनि कुनै झैँझगडा नरहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायक उपरीक्षक दिलीप घिमिरेले निवेदनका आधारमा बेपत्ता शिक्षक पौडेलको खोजी जारी राखिएको जानकारी दिनुभयो ।
रासस