सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमाछोरा बेपत्ता

0
Shares

म्याग्दी ।  म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी खोलामा खस्दा दुईजना बेपत्ता भएका छन् । शुक्रबार बिहान ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दीखोलामा खस्दा आमा छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

ट्याक्सी खोलामा खस्दा पर्वत जलजला–२ बौरकी शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो । ट्याक्सी चलाउन सिकाउने न्यु बेनी ईस्टिच्युटका प्रशिक्षकले आफू पिसाब गर्न गएको समयमा दुर्घटना भएको बताएको प्रनाउ बुढामगरको भनाइ छ ।

बेपत्ता आमाछोरा र ट्याक्सीको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । बहुउद्देश्यीय खेलमैदानको नाम दिएको मैदानको छेउमा हाटबजार सञ्चालनका लागि कृषि उपज सङ्कलन केन्द्रको भवन समेत रहेको छ । मैदानको डिलमा घेराबार तथा तारजाली लगाइएको छैन भने नजिकैबाट म्याग्दीखोला बग्छ ।