दाेहा पुगेर फर्कियाे नयाँ एयरबस

0
Shares

काठमाडौं, (नेस)
नेपाल वायुसेवा निगमले हालै खरिद गरेको एयरबस ३३०–२०० वाइडवडी विमानले बुधबारदेखि व्यावसायिक उडान शुरू गरेको छ । निगमले खरिद गरेका दुईवटा वाइड वडी विमानमध्ये यो पहिलो हो । नागरिक उड्डयन प्राधिकरणबाट उडानयोग्य प्रमाणपत्र (एओसी) प्राप्त गरेपछि दोस्रो विमानले पनि व्यावसायिक उडान गर्नेछ ।

बुधबार साँझ साढे ९ बजे दोहाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ‘अन्नपूर्ण नाम दिइएको उक्त विमान करिब ५ घण्टाको उडानपछि दोहा पुगेको थियो । २७४ सीट क्षमताको उक्त विमानबाट २४६ यात्रुले यात्रा गरेको निगमले जनाएको छ ।

उक्त विमान बिहीबार दोहाबाट काठमाडौं फर्किएका छ । सो उडानमा २५९ यात्रु सवार रहेको निगमले जनाएको छ । निगमका अनुसार विमानलाई क्या. फ्रास्वाँ फेनार्ट र क्या. श्रवण रिजालले उडाउनु भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडानमा दोहा जान लागेका यात्रुलाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र नायब महाप्रवन्धक गणेशबहादुर चन्दले बिदाई गर्नु भएको थियो ।