डेनमार्कमा बुर्कामाथि रोक


कोपेनहेगन (एजेन्सी)
डेनमार्कमा नकाब र बुर्का लगायत अनुहार ढाक्ने सम्पुर्ण परिधान लगाउन रोक लगाएको छ । उक्त रोकको समर्थन र विरोधमा ब्यापक वावविवाद भइरहेको जनाइएको छ ।
सत्तारुढ उदारवादी पार्टि वेन्स्त्रेका नेता मार्कस नुथले केही रुढिवादी महिलाद्वारा लगाइने पहिरण अत्यन्तै दमकारी भएको बताए । ‘पार्टी रिवेल्स‘का कार्यकर्ता समुहकी शासा एन्डर्सनले भने उक्त कदम विरुद्ध प्रदर्शन गर्ने योजना बनाएकी छिन् ।

उनले यसलाई अल्पसंख्यक समुदाय विरुद्ध एक पक्षपातपुर्ण कदम भएको बताएकी छिन् । प्रतिबन्धको समर्थन गर्ने समुहले पनि र्यालीको योजना बनाएका छन् । डेमार्कका सांसदहरुले उक्त कानुनलाई मेमा अनुमोदन गरेका थिए । सन् २०१६ मा डेनमार्कले सरणार्थीहरुलाई गहना तथा सुन जस्ता मुल्यवान सामान सरकारलाई सुम्पनु पर्ने अर्को कानुन पनि पारित गरेको थियो । यसले देशमा बसुन्जेल हुने खर्च ब्यवस्थान गर्न मद्दत हुने बताइएको छ ।

अन्य युरोपली देशमा पनि यस प्रकारको प्रतिबन्ध लागु गरिएको छ । यो कानुन कुनै विशेष धर्मलाई लिएर नबनाइएको सरकारले जनाएको छ । सरकारले हेडस्कार्फ, पगडी वा परम्परागत यहुदी टोपीमाथि भने प्रतिबन्ध लगाएको छैन । डेनमार्कमा यसलाई ‘बुर्का ब्यान्ड‘ नामले चिनिएको छ । धेरैले यसलाई नकाब र बुर्कामाथिको रोकका रुपमा लिएका छन् । डेनमार्कमा केही मुस्लिम महिला पुरै अनुहार छोपिने पहिरण लगाउँछन् ।