बिमानस्थल कालोपत्रे गर्ने काममा ढिलाई

0
Shares

रामधन राई, खोटाङ
खोटाङको दक्षिणी क्षेत्रमा अवस्थित थामखर्क बिमानस्थल कालोपत्रे गर्ने म्याद सकिए पनि काम सकिएको छैन । ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले २०७३ सालबाट कालोपत्रेको काम सुरु गरेकोमा हालसम्म पनि सम्पन्न हुन नसकेको हो ।

सम्झौता अनुरुप बिमानस्थल कालोपत्रे गर्नुपर्ने म्याद गत असार मसान्तमै गुज्रिए पनि हालसम्म ७५ प्रतिशत मात्र काम सकिएको नेपाल नागरिक उड्यायन प्राधिकरणका ईन्जिनियर रत्न श्रेष्ठले बताउनुभयो । निर्माण कम्पनीको ढिलासुस्तीले खोटेहाङ गाउँपालिका–४ बड्कादियाले स्थित बिमानस्थल कालोपत्रेको काम समयमै सम्पन्न हुन नसकेको स्थानीय बताउँछन् । यसअघि, कुनै पनि हालतमा असार अगावै कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण निर्माण ब्यवसायीले बताएका थिए ।

बिमानस्थल कालोपत्रेका लागि तयारी भए पनि छिटो वर्षा सुरु भएकाले असार मसान्तअघि कालोपत्रे गर्न नसकिएको प्राधिकरणका ईन्जिनियर श्रेष्ठले बताउनुभयो ।
२०७५ साल असार मसान्तभित्रमा सम्पन्न गर्नेगरी नेपाल नागरिक उड्यान प्राधिकरणको ९ करोड २५ लाख २९ हजार लागतमा बिमानस्थल कालोपत्रेका काम थालिएको हो ।

विमानस्थल कालोपत्रेका काम सुस्त भएपछि २०७४ साल माघ ८ गते प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा प्राधिकरणको कार्यालयमा ठेकेदारकै उपस्थितिमा कार्यतालिका नै बनाइएको थियो । सो कार्य तालिका अनुसार ठेकेदारले जेठ मसान्तभित्रमा अस्फाल्ट कंक्रिटको काम सक्ने र असार मसान्तभित्रमा सबै काम सम्पन्न गरेर जिम्मा लगाउने लिखित प्रतिवद्धता गरेका थिए ।

खोटाङको दक्षिणी क्षेत्रको एक मात्र विमानस्थल कालोपत्रेको काम ढिलाई भएपछि खोटेहाङ, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारण ओक्रोशित छन् ।