पुष्कर बुढाथोकी, भक्तपुर,(नेस) ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरमा सफल कलेजो प्रत्यारोपण गरेका सितेरियो कराते खेलाडी बद्री खड्का डिस्चार्ज भएका छन् । बूढानीलकण्ठ नगरपालिका– ११ कपन निवासी ४३ वर्षीय खड्का आईतवार एक महिनाको अस्पताल बसाई पछि घर फर्किएका हुन् ।
ओम अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, काठमाडाँै मेडिकल कलेज हुँदै भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएर असार ७ गते भर्ना भएका खड्काको असार १० गते सफल कलेजो प्रत्यारोपण भएको हो ।
२०६२ मा कलेजोमा दाग देखिएपछि उपत्यकाका नाम चलेका अस्पताल धाउँदा करिव २० लाख सिद्धिएको बताउँने खड्का यसरी कलेजो प्रत्यारोपण हुन्छ भन्ने पत्यार नलागेपनि भक्तपुरमा शल्यक्रीया भएपछि दोश्रो जुनी पाएको खड्काको भनाई छ । डिस्चार्जपछि आईतवार खड्काले पहिलेजस्तो पेटमा समस्या नरहेको बताउँदै केहिदिनपछि आफु पुरानै अवस्थामा फर्कने बताउँनु भयो ।
तीन वर्षयता कलेजोले काम नगर्दा शरीर सुन्निनका साथै पेटमा पानी भरिएर निकै ठूलो समस्या भोग्दै आउँनु भएका खड्काले पटक–पटक फोक्सोबाट पानी निकाल्नु परेको थियो । त्यो पीडा सम्झेर श्रीमती रुषाले श्रीमान्लाई कलेजो दिएर बचाउँने निर्णय गर्नु भएको थियो । कलेजो श्रीमतिले दिने निर्णय भएपनि नेपालमा कलेजो प्रत्यारोपण सेवा थिएन । साथीभाई र आफन्तले भारत जान सल्लाह दिएका थिए । भारतमा प्रत्यारोपणमै एक करोडभन्दा बढी लाग्ने र डिस्चार्ज भएर आउने बेलासम्म एक करोड ५० लाख खर्च हुने जानकारी पाएपछि त्यो व्यहोर्न नसक्दा रोग पालेर बस्न बाध्य भएको खड्काले बताउँनु भयो ।
मासिक झण्डै एक लाख रुपियाँ औषधी उपचारमै खर्च भइरहेको अवस्थामा आठ महिनाअघि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोण भएको खवरले खड्काको बाँच्ने आशा पलाएको थियो ।
चार महिनाअघि फेरी दोश्रो पटक कलेजो प्रत्यारोपण भएपछि भने खड्का केन्द्रको सम्पर्कमा आउँनु भएको हो । केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले २० लाख जम्मा गरे शल्यक्रीया गरेर कलेजो प्रत्यारोपण गरिदिने आश्वासन दिएपछि खड्का दम्पतीलाई ढुंगा खोज्दा देउता भेटेझै भएको थियो रे । सबै जाँच गर्दा श्रीमती रुषाको कलेजो प्रत्यारोपण गर्न मिल्ने भएपछि असार ७ गते केन्द्रमा भर्ना भएका खड्काको तीन दिन पछि भारत र नेपालका दुई दर्जनबढी चिकित्सकले १५ घण्टा लगाएर जटिल मानिएको खड्काको कलेजो प्रत्यारोपण गरेका थिए ।
करातेका मास्टर र करातेका थ्री डन बद्रीको दुई वटा आफ्नै डोजो र विभिन्न विद्यालयमा सिकाउदै आउँनु भएको थियो । समयमै खाना खाने व्यवस्था नहुँदा धपेडीकै कारण कलेजो बिग्रिएको खड्काको बुझाई छ । केन्द्रका प्रमुख एवं निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिलेसम्म तीन वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको बताउँदै अब पाँच वटा कलेजो प्रत्यारोपण गर्ने तयारीमा रहेको बताउनु भयो ।
खड्काको कलेजो प्रत्यारोपणमा भारतको दिल्लीस्थित म्याक्स अस्पतालका प्रा डा सुभास गुप्ताको नेतृत्वमा रहेको नौ सदस्यीय टोली र केन्द्रका डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको १५ सदस्यीय टोली खटिएको थियो । टोलीले १५ घण्टा लगाएर खड्काको कलेजो प्रत्यारोपण गरेको हो । निर्देशक डा श्रेष्ठका अनुसार, यसअघि शल्यक्रीया पछिका सबै उपचारमा विदेशी चिकित्सक टोली रहेपनि यसपटक सबै स्थानीय चिकित्सक टोलीले गरेको हो ।
आगामि दिनमा हुने प्रत्यारोपणमा विदेशी चिकित्सकको भूमिका घटाउँदै स्थानीयको भूमिका बढाएर लैजाने केन्द्रका निर्देशक श्रेष्ठको भनाई छ ।











प्रतिक्रिया