खाडीमा हराउने महिलाको संख्या बढ्दै

0
Shares

नेपाल समाचारपत्र, बाँके ।
खाडीमुलुकमा पुगेर घरपरिवारको सम्पर्कबाट टाढिएका नेपाली महिलाको संख्या दिन प्रति दिन बढिरहेको छ । भारत तथा खाडीमुलुकमा पुगेर हराउने नेपाली महिलाको संख्या बढ्दै जानु चिन्ताको विषय भएको छ ।

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइरहदा आएको यस्तो तथ्यांकले राज्य तथा सरोकारवाला निकायलाई झस्क्याएको हो । नेपालगञ्ज नाकाबाट मात्रै आर्थिक वर्ष २०७४÷७५ मा ९ सय १३ जना महिला खाडीमा पुगेर घरपरिवारबाट सम्पर्कबिहीन भएका छन् । यीमध्ये कतिपय केही समय सम्पर्क रहेपनि पछि हराएका छन् ।

घरपरिवारले खोजतलास तथा उद्धारका लागि यतिको निवेदन दिएका छन् । गतवर्ष ७ सय १३ जनाको यस्तो निवेदन आएको थियो । मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, नेपालगञ्जमात्रै खोजतलास तथा उद्धारका लागि यतित्रका निवेदन आएका हुन् ।
बाँकेकी एक महिला भारतीय बाटो हुँदै साउदी अरब पुगिन् । साउदी पुगेको ७÷८ महिनामा उनले घरमा फोन गरेर छिटो उद्धार गर्न रोइकराई गरिन् । ‘कुटपिट गर्छ । खाना दिन्न । बिरामी हुँदा पनि काममा लगाउँछ । म त मर्छु होला, छिटो उद्धार गर्नु, महिलाले रुदै घरमा फोन गरेपछि घरपरिवारले माइती नेपालमा निवेदन दिए ।
घरपरिवारले निवेदन त दिए । तर, उद्धार कसरी गर्ने ? न त त्यहाँ राज्यको निकाय छ । न त माइती नेपालजस्ता संस्था नै जान सक्छन् । ती महिला अहिले सम्पर्कमा छैनन् ।

घरपरिवारको सल्लाह या आफै दलालको प्रलोभनमा परेर खाडीमुलुकमा पुगेका महिलामा यस्तो समस्या आउने गरेको छ । सबैजसो भारतीय बाटो हुँदै त्यहाँ पुग्ने गर्दछन् । खोजतलासको निवेदन दिनेमा यस क्षेत्रमा बाँके, दाङ, सुर्खेत, बर्दिया र सल्यानका महिला धेरै रहेको माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाले बताउनुभयो ।
भारतीय बाटो हुँदै वर्षमा कति नेपाली महिला खाडीमुलुक पुग्छन्, तथ्यांक छैन । नेपालगञ्ज नाका भएर पूर्वी नेपालका महिलासमेत भारत हुँदै खाडीमा पुग्ने गरेको तथ्यांकहरुले देखाएको छ । हुन त, नेपालगञ्ज नाकामा प्रहरी, माइती नेपाललगायत आधा दर्जन संघ संस्थाले निगरानी राख्छन् । त्यसका बावजुद भीडभाडको फाइदा उठाउदै दलालले महिलालाई नाका पार गराउने गरेको पाइन्छ ।
प्रहरीसँग मिलेर नाकामा बसेको माइती नेपालले एक वर्षमा जोखिमपूर्ण यात्रामा हिडेका नौ सय ३० जनालाई फिर्ता गरेको छ । ९ सय ५६ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ ।

५२ को उद्धार
माइती नेपालले एक वर्षमा ५२ जनाको उद्धार गरेको छ । भारत तथा खाडीमुलुकमा श्रम तथा यौन शोषणमा परेका महिलाको उद्धार भएको हो ।
यसमा भारतबाट उद्धार हुने धेरै छन् । भारतमा माइती नेपालले माइती इन्डियाका साथै त्यहाँका संघ संस्थासँग मिलेर काम गर्ने भएकाले बढी नेपाली चेलीको उद्धार भएको छ । भारतबाट बैश्यामा रहेका महिलाको उद्धार भएको छ ।
फेसबुक, फोन, माया प्रेम, विवाहको नाटक गरेर किशोरीहरुलाई भारतमा पु¥याएर बेच्ने गरेको तथ्यांकहरुले देखाएको छ । १४ वर्षकी एक किशोरीलाई प्रेमीले नै भारतको आग्रामा पु¥याएर बेश्यालयमा बेचिदिएका थिए । १८ महिनासम्म नरकीय जीवन बिताएकी उनलाई माइती नेपालले उद्धार गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार बढ्दै जादा जनचेतनाका कार्यक्रममा पनि तीब्रता आइरहेको छ । ‘विकाउ इसु’ भएकाले यस विषयमा काम गर्ने संघ संस्था दिन प्रति दिन बढिरहेका छन् । महिलाहरु बेचिएको तथा जोखिममा परेको तथ्यांक धेरै हुँदा दलाल भने पक्राउ परेको पाइदैन । बेचिएर आएका महिलाले पनि आर्थिक, सुरक्षालगायतका कारणले दलाललाई उम्काइदिने गरेका छन् । एक वर्षमा ६ जना दलाललाईमात्रै पक्राउ परेर कारबाहीको प्रक्रियामा ल्याइएको छ ।