१० करोड बैंक घोटाला काण्डः आरोपी बोहरा दाजुभाई १ करोड धरौटीमा छुटे

0
Shares

सरोज यादव, विराटनगर ।
बैंकिङ कसुर मुद्दामा फरार भन्सार एजेण्ट ललित बोहरा र सुरेश बोहरा सुटुक्क अदालतमा हाजिर भएर धरौटीमा छुटेका छन् । राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखा कार्यालय रानी विराटनगरको १० करोड घोटाला प्रकरणमा ६ महिनायता फरार रहेका दाजुभाई सुटुक्क हाजिर हुँदै धरौटीमा छुटेका हुन् ।

बैंङकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले सुरेशलाइ ८० लाख र ललितलाइ २५ लाख धरौटीमा छोडन आदेश दिएको हो । विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका भाइ ललित बोहराका नाममा फागुन पहिलो साता प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । दाजु भाइले बंैकको १० करोड घोटाला गरेको आरोप थियो ।

बैंकिङ कसुर मुद्दामा म्याद जारी भएपछि हाजिर भएका बोहरा दाजुभाइ धरौटीमा छुटेको उनका कानुन सहयोगी अधिवक्ता भरतबहादुर थापाले जानकारी दिए । उनका अनुसार बैंकले बिगो दावी नगरेपछि धरौटीमा छुटेका हुन् ।बैंकको काउन्टरमा बोहरा दाजुभाइले राजस्व बापत बुझाएका एकाउन्ट पेई चेकहरू क्लियरिङ नभएपछि घोटाला भएको खुलेको थियो ।

मोरङ र सुनसरीका ठूला उद्योगका कच्चा पदार्थ एवं ठूला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटकपटक र विभिन्न एकाउन्ट पेई चेकमार्फत् मालवस्तु छुटाएका थिए ।
तर खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसक्दा १० करोड नोक्सान भएको भन्दै बैंकले प्रहरीमा उजुरी दिएको थियो । सो क्रममा बैकका कर्मचारीद्वय विष्णु निरौला र द्रोण राउत पनि पक्राउ परेका थिए ।

उनीहरुलाई एक करोड रुपैयाँ धरौटी गरिएकोमा सर्वाेच्चले ७५ लाख रुपैयाँ कायम गरिदिएपछि चलअचल सम्पति धितो राखेर धरौटी जम्मा गरी तारेकमा छुटेका हुन् ।