अस्पतालभित्र नाङ्गो नाच

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अनसनत डा. गोविन्द केसीलाई जबरजस्ती राजधानी ल्याउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र पसी जथाभावी गोली, अश्रुग्यास र लाठीचार्ज गरेर सरकारले नाङ्गो नाच देखाएको बताउनुभएको छ ।

अहिलेसम्म अस्पतालभित्र यस्तो उदण्ड गतिविधि नभएको भन्दै कांग्रेस सभापति देउवाले यो घटनाको कडा शब्दमा भर्सना गनुृभएको छ । डा. केसीको माग पूरा गर्न अघिल्लो सरकारले अध्यादेशको रुपमा ल्याएको चिकित्सा शिक्षा विधेयक हुबहु नल्याएका कांग्रेसलाई मान्य नहुने भन्दै उहाँले सरकारको रवैयाविरुद्ध कडा संघर्ष गर्ने चेतावनी पनि दिनुभएको छ ।

डा. केसीको जीवन रक्षा हुनुपर्ने भन्दै यसलाई सानोतिनो कुराको रुपमा लिएर सरकारले गम्भीर भुल गरिरहेको भन्दै कांग्रेस सभापति देउवाले बिहीबार भएको प्रतिनिधिसभा बैठक स्थगनप्रति पनि असन्तोष प्रकट गर्नुभएको छ । सभापति देउवाले डा. केसीको मागको सम्बन्धमा समान धारणा बनाउन र सरकारविरुद्ध उभिन सरकारले संविधान उल्लंघन गरिरहेकाले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नयाँ शक्ति पार्टीका शीर्ष नेताहरुलाई पनि आग्रह गरेका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान उल्लंघन र जनहितविपरीत कार्य गरिरहेको भन्दै सदन र सडक आन्दोलन गरिरहेको कांग्रेस सभापति देउवाले राजपाका नेता राजेन्द्र महतो र नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग सरकार विरुद्ध उभिनेबारे बिहीबार छलफल गर्नुभएको थियो ।

–सरकारको रवैयाविरुद्ध कडा संघर्ष गर्ने चेतावनी
–सरकारविरुद्ध उभिन राजपा र नयाँ शक्तिलाई आग्रह
–प्रतिनिधिसभा बैठक स्थगनप्रति असन्तोष प्रकट

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार नै एक विज्ञप्ति जारी गरी जुम्लामा भएको सरकारी दमन तथा संसद् छल्ने गरी बैठकलाई ८ दिन पर सारिएको विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको जनाएको छ । चिकित्सा शिक्षा सुधारका लागि नेपाली कांग्रेसको सरकारले जारी गरेको अध्यादेशभन्दा विपरीत विधेयक ल्याउनेतर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हस्ताक्षर गरेको विज्ञप्तमिा भनिएको छ– ‘डा. केसीको जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठीचार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पु¥याउने जस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भत्र्सना गर्दछ ।’

‘जुम्लामा गम्भीर घटना भइरहँदा डा. केसीको माग सम्बोधन गर्नुको साटो प्रतिपिक्षीसँग परामर्श गर्ने परम्पराविपरीत प्रतिनिधि सभा बैठक स्थगित गर्ने सरकारको गैरजवाफदेही क्रियाकलापप्रति हामी खेद प्रकट गर्दछौँ । समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ । डा. गोविन्द के.सी.को जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा नेपाली कांग्रेसको विरोध जारी रहनेछ’ –कांग्रेसले जनाएको छ ।

डा. गोविन्द केसीको मागलाई समर्थन गर्दै राजधानीमा दशौं हजार सडक उत्रिएका छन् । जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई जबरजस्ती काठमाडौं ल्याउन सशस्त्र प्रहरी अस्पतालभित्र प्रवेश गरी अन्दधुन्द लाठी, अश्रुग्यास र गोली प्रहार गरिरहेको बेला डा. केसीको माग तत्काल पूरा गर्न दबाब दिँदै राजधानीमा बृहत् प्रदर्शन भएको थियो । आन्दोलनकारीले सरकारको चर्को आलोचना गर्दै हजारौं संख्यामा उपस्थित प्रदर्शनकारीले डा. केसीको माग तत्काल पूरा गर्न सरकारलाई दबाब दिएका थिए ।