शैक्षिक प्रमाणपत्रको आधारमा ऋण

0
Shares

कविराज नेपाल
पाल्पा, असार २७
आर्थिक वर्ष २०७५/०७६ को वजेट मार्फत सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा क्रण दिने घोषणा गरे सँगै स्थानीय सरकारहरुले शैक्षिक प्रमाणपत्रका आधारमा ऋmण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरि प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवाहरुलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए ।

उनले भने ‘गाउँमा पनि धेरै युवाहरु शैक्षिक बेरोजगार छन् । केही विदेशमा श्रम गरिरहेका छन् । यसैका आधारमा गाउमै युवाहरु वस्ने वातावरण वनोस भनेर यस्तो ऋणको व्यवस्था गरिएको हो ।

बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि ४ लाख रुपैयाँ ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बगनाशकाली–२, का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका एक लाख रुपैयाँ ऋण लिएका छन् ।

सोही स्थानका सचिता अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरि तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण पाएका छन् । यस्तै बगनासकाली–९, का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ ।

अब गाउँमै स्वरोजगारीता मार्फत् रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम सुरु गरेका हौं ।’ अध्यक्ष वस्यालले भने । युवा लक्षित युवा स्वरोजगार (कषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालु वर्षमा बिनियोजित रकम ७ लाख रुपैयाँबाट ऋण उपलब्ध गराइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातकतह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यहरुलाई चार लाख रुपैयाँ रकम उपलब्ध गराइएको छ ।

बगनाशकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरि ऋण प्रदान गरिएको बताए ।

‘गाउँपालिकाले दिएको ऋणबाट ३ महिनाभित्र काम सुरु हुनुपर्छ । २ वर्षसम्म व्याज तिर्नु पर्दैन । २ वर्ष भित्रै तिरे ५ प्रतिशत रकम छुट हुन्छ,’ अर्यालले भने, ‘आगामी वर्ष समेत कार्यक्रमले निरन्तरता पाउँछ ।’ शैक्षिक प्रमाण पत्र धितो राखेर क्रण पाए पछि युवा हर्षित भएका छन् ।

युवाहरुले शैक्षिक प्रमाणपत्र भएर पनि आवश्यक पूँजीको अभावमा उद्यमशीलता र स्वरोजगार क्रियाकलापमा संलग्न हुन अपठ्यारो परिरहेको अवस्थामा प्राप्त ऋणले रोजगारीतर्फ उन्मुख हुन सहयोग गरेको वताए ।