साठी लाख ठगी महिला बेपत्ता

0
Shares

शिवहरीप्रसाद भट्टराई, राजविराज
गाउँभरी ऋण उठाएर छिमेकी महिला वेपत्ता भएपछि सप्तरीको खडक नगरपालिका–१०, इनरुवा फुलवरियाका महिलाहरु यतिवेला समस्यामा छन् । फरार महिलालाई पक्राउ गरी कारवाही गर्न र पैसा असुल गरिदिन आग्रह गर्दै प्रहरी÷प्रशासन धाउनु उनीहरुको दैनिकी वनेको छ ।

पति विदेश गएपछि छोराको पढाई र घर खर्च अभाव भएको भन्दै स्थानीय हेमनारायण चौधरीकी पत्नि रामपरिदेवीले गाउँका महिलाहरुसँग घरलौरी ऋण उठाएर वेपत्ता भएको पीडितहरुको गुनासो छ ।

छोरा इन्द्रनारायणको पढाईका लागि भन्दै रामपरीले रकम संकलन गरेको उनीहरुको भनाई छ । रामपरीका दुई भाई छोरा मध्ये इन्द्रनारायण भारतको वेङ्लौर र ध्रवु राजविराजमा अध्ययनरत छन् ।

वेपत्ता रामपरी विरुद्ध गाउँका करिव ४० जना महिलाले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गराएका छन् । ब्यवहारीक कठिनाई देखाएर ठगि गरेको उल्लेख गर्दै दर्ता गराईएको उजुरीमा रामपरीले हरेक महिलासँग ६ हजारदेखि ६ लाख २९ सम्म ऋण उठाई करिव ६० लाख रकम जम्मा गरेर वेपत्ता भएको उल्लेख छ ।

ब्यवहारीक समस्या वुझेर सहयोग गर्दा आफुहरु अप्ठयारोमा परेको महिलाहरुले गुनासो गरे । ‘छोराको पढाई नै रोकिने भो भन्दै गिड्गिडाउन थालेपछि पतिले विदेशवाट पठाएको एकमुष्ट १ लाख २५ हजार रुपैयाँ निकालेर दिएँ’ पीडित मध्येकी प्रमिला चौधरीले भनिन्–‘अव पैसा खै ? भन्दा मैले कहाँवाट देखाउने ?’ उनका पति भगवतीप्रसाद चौधरी कतारमा कार्यरत छन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरका सई भगवानी ठाकुले पीडितहरुको उजुरी दर्ता भएको जानकारी दिदै वेपत्ता महिला र उनका पतिको खोजतालस भईरहेको वताए । दुवै जना फेला पर्ना साथ आवश्यक अनुसन्धान गरी पीडितलाई न्याय र दोशीलाई कारवाही गराउन प्रहरीले प्रयास गरिरहेको उनले वताए ।