कर्मचारी दरबन्दी निर्धारण अन्तिम चरणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ ।

संघीय संरचनाअनुरुप कर्मचारी समायोजन कार्यलाई अघि बढाउन सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेशमा कर्मचारीको दरबन्दी निर्धारण गर्न लागेको हो । संघ, प्रदेशमा रहने दरबन्दी निर्धारण कार्यलाई अन्तिम स्वरुप दिएपछि हाल कर्मचारीको अन्तरिम समायोजनमा भएको सकसको स्थिति क्रमशः सहजमा हुँदै जाने मन्त्रालयको विश्लेषण रहेको छ ।

‘दरबन्दी निर्धारण कार्य अन्तिम चरणमा पुगेको छ । संघ, प्रदेशमा कति कर्मचारी रहने हो, त्यसको अन्तिम टुंगो एक दुई दिनमा लाग्ने छ ।’ मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले नेपाल समाचारपत्रसंग भन्नुभयो।

मन्त्रालयका प्रवक्ता अधिकारी अनुसार संघमा करिब करिब ४५ हजारको हाराहारीमा कर्मचारी आवश्यक रहने छ । स्वास्थ्य सेवा समेत गरेर केन्द्र सरकारमा हाल करिब १ लाख १७ हजार कर्मचारी रहेका छन् । त्यसमध्ये निजामती कर्मचारीको दरबन्दी करिब ८६ हजार छ । कार्यबोझ तथा सांगठनिक तथा व्यवस्थापन सर्वेक्षणका आधारमा केन्द्रलाई ४५ हजारको हाराहारीमा कर्मचारी आवश्यक रहने मन्त्रालयको प्रारम्भिक अनुमान रहेको छ ।

 

केही कार्यालयहरुको सर्वेक्षणको प्रतिवदेन आउन बा“की छ । ती कार्यालयहरुको प्रतिवेदन आएपछि दरबन्दीको संख्या सार्वजनिक गर्ने मन्त्रालयको तयारी रहेको छ ।

त्यसै गरी सात वटैै प्रदेशमा रहने मन्त्रालय र प्रदेशअन्तर्गत रहने निर्देशनालय र कार्यालयमा गरी १६ हजारको हाराहारीमा कर्मचारी रहनेछ । अहिले प्रदेशमा दक्षता कम र अनुभव नभएका कर्मचारीहरु मात्र पठाइरहेकोमा प्रदेशका मुख्य मन्त्रीहरु संघ सरकार समक्ष असन्तुष्टि रहेको पाइएको छ ।

स्थानीय तहको दरबन्दी भने यस अघि नै मन्त्रिपरिषद्ले टुंगो लगाइसकेको छ । गत चैत्र १४ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले ५७ हजार ३ सय ५४ कर्मचारीलाई स्थानीय तहमा पठाउने निर्णय गरेको थियो । स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई ध्यानमा राखेर काजमा धमाधम कर्मचारी स्थानीय तह पठाइरहेको पनि मन्त्रालयका प्रवक्ता अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।