मधुसूदन रायमाझी, काठमाडौं
राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रुपमा रहेको बीपी राजमार्ग पनि जोखिममा परेको छ । स्थानीय तहमा बिनामापदण्ड सडक निर्माण गर्दा बिपी राजमार्ग जोखिमा परेको हो । वर्षाको समयमा अनियन्त्रित रुपमा निर्माण भएको ग्रामीण सडकको कारण ठाउँठाउँमा सडक अवरुद्ध हुने क्रम बढेको छ ।
मुग्लिनमा जाम हुँदा बिपी राजमार्ग हुँदै सवारी साधनहरु सञ्चालन हुने गरेका छन् ।
तर ग्रामिण सडक निर्माणको शिकार बिपी राजमार्ग बन्न पुगेको छ । काभ्रेको रोशी खोला, सिन्धुलीको सुनकोसी नदीको किनारैकिनार सिन्धुलीगढी हुँदै बर्दिवास जोडिएको बीपी राजमार्गअन्तर्गत काभ्रे र सिन्धुलीको दर्जनौ स्थानमा वर्षाको समयमा ढुंगा माटोसहितको खहरे आउँदा सवारी आवतजावत अवरुद्ध हुने गरेको छ ।
स्थानीय तहमा सरकार गठन भएसँगै सबैभन्दा बढी लगानी सडक निर्माण भएको कारण पनि पछिल्लो बर्षमा बिपी राजमार्गमा माथिल्लो भागबाट लेदो आएर पुर्ने र सडक अवरुद्ध हुने गरेको सुनकोसी गाउँपालिकाका स्थानीय पदम श्रेष्ठ बताउनुहुन्छ । सडक निर्माणको देलोले कारण कालोपत्रे भत्किने गरेको छ ।
–पुल नहुँदा सडक नै अवरुद्ध हुन थाल्यो
–सडकमा लेदो जम्दा कालोपत्रे भत्किने क्रम बढ्यो
–एक दर्जनौं स्थानमा जोखिम
साँघुरो सडकमा पहिरो खस्दा सडक अवरुद्ध हुँदा घण्टौ ट्राफिक जाम हुने गरेको छ । बिपी राजमार्गमा अन्तर्गत पर्ने खहरे खोला र नयाँ सडक निर्माण गरिएको स्थानबाट सडकमा ढुंगा मोटो थुप्रिने गर्दा सर्वसाधारण यात्रुलाई सास्ती हुने गरेको छ । राजमार्गको एक दर्जन भन्दा बढी स्थानमा खहरेले दुःख दिने गरेको छ । बर्षाको समयमा पानी पर्नासाथ खहरे बढेने र साना सवारी साधान सञ्चालनमा कठिनाई हुने गरेको सवारी चालक कृष्ण थापामगर बताउनुहुन्छ ।
स्थानीय तहको सरकार गठन भएपछि गाउँगाउँमा विकास निर्माण भनेकै सडक निर्माण हो । स्थानीय तहले अधिकाशं बजेट सडक निर्माण र स्तरउन्नतीको काममा खर्चिएका छन् । सडक निर्माणको नाममा मापदण्ड विपरीत खनिएको सडकको कारण जोखिम पनि उत्तिकै बढदै गएको छ । गाउँघरमा खनिएका सडकको कारण मुख्य राजमार्गलाई समेत असर गरेको भन्दै स्थानीयले चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।
नयाँ सडक निर्माण गर्दा नालाको व्यवस्था नहुनु, मापदण्ड विपरीत नै सडक निर्माण गर्दा अहिले सामान्य पानी पर्दा समेत मुख्य राजमार्ग अवरुद्ध हुने गरेको छ । बिपी राजमार्ग पनि यसबाट अछुतो हुन सकेको छैन् । बिपी राजमार्गको दजनौ स्थानमा माथिबाट आएको भेलको कारण अहिले सडक अस्तव्यस्त बन्ने गरेको छ । बिपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डको तीन स्थानमा भने बर्षाको समयमो सडक अवरुद्ध हुने गरेको छ ।
सडक विभागले बर्षाको समयमा उर्लिने खहरेमा पुल निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । बिपी राजमार्गको नेपालथोक–धुलिखेल सडक खण्डको माम्तीमा पक्की पुलको अवधारणा अगाडि सारेको छ । माम्ती खोलमा पक्की पुल नहुँदा बर्षाको समयमा सर्वसाधारण यात्रुहरुले निकै ठूलो सास्ती खेप्दै आएका छन् । सडक डिभिजन कार्यालय खुर्कोटका प्रमुख राकेश महर्जनले तीन स्थानमध्ये एक स्थानमा मात्र पक्की पुल निर्माण गर्न सकिने बताउदै माम्ती खोलमा मात्र पक्की पुल निर्माण गर्न सकिने बताउनुभयो ।
राजमार्ग अन्गर्तत खहरे खोला मानिने भयाकुरे खोला र कालोढुंगा भने पुल निर्माण गर्दा सडक तल पर्ने भएको कारण अन्य वैकल्पिक व्यवस्था खोज्नु पर्ने बताउदै उहाँले ग्रामिण क्षेत्रमा अन्धाधुन्ध सडक निर्माण गर्दा राजमार्गमा जोखिम बढेको बताउनुभयो ।
महर्जनले बर्षाको कारण आउन सक्ने सम्भावित बाढी पहिरो पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको बताउदै भन्नुभयो, ‘पानी पर्ने वित्तिकै राजमार्गलाई अवरोध पु¥याउने गरी लेदो र खहरे खोलामा बाढी आउने गरेको छ,सर्वसाधारणले सहज रुपमा आवतजावत गर्न पाउने गरी हामीले एउटा मेसिन सम्भावित स्थलमा नै राखेका छौ ।’
सबै भन्दा बढी धुलिखेल–नेपालथोक सडक खण्डमा सडक अवरुद्ध हुने गरेको छ । पुल निर्माण गर्न नसकिने अवस्थामा वैकल्पिक व्यवस्थाको खोजी भइरहेको बताउदै महर्जनले सडक अवरुद्ध हुने स्थानमा स्थायी समाधानको उपायको खोजी गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रका अनुसार बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार भन्दा बढी सवारी साधन आवत जावत गर्ने गरेका छन् ।











प्रतिक्रिया