कर दाखिला नगर्नेलाई कारबाही गरिने

0
Shares

वीरगन्ज, (नेस)
वीरगन्जमा रहेको आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि राजस्व दाखिला नगर्ने चार दर्जन व्यावसायिक फर्म तथा कम्पनीलाई कारबाही गर्ने भएको छ । एक लाखदेखि करोडौं रुपियाँसम्म कर नबुझाउने ५० वटा व्यापारिक फर्मलाई उसले कारबाही शरू गरेको हो ।

पहिलो कर बुझाउन आउन १५ दिने सूचना जारी गरेको र त्यसको म्याद जेठ १२ गते सकिसकेकाले आयकर ऐन २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम ती व्यापारिक फर्मलाई अब कारबाहीको प्रक्रिया शुरु गरिएको कर अधिकृत चन्दनकुमार कर्णले बताउनुभयो ।

उहा“ले ती कम्पनीको घर–जग्गा बैंक खाता रोक्का राख्ने जानकारी दिनुभयो। त्यसबाहेक ती कम्पनीको आयात निर्यात पनि रोक्का राखिने उहा“को भनाइ छ। कर दाखिलाको लागि टेलिफोन, इमेल एसएमएस, स्थलगत गएर जानकारी दिइएको तथा पत्रिकामार्फत सूचना समेत प्रकाशित गरिएको कर अधिकृत कर्णले बताउनुभयो। वीरगन्जमा ५० वटा कम्पनीले करिब १२ करोडभन्दा बढी बराबरको कर दाखिला गरेका छैनन् ।

राजेश रौनियारको नारायणी ट्रेड लिंक, रामचन्द्र मिश्र ब्राहमणको शिखा इन्टरप्राइजेज एन्ड कन्सर्न, मुन्ना प्रसाद बानियाको भी. मल्टी कन्सर्न, रामेश्वरप्रसाद अर्यालको कम्प्युट्रोनिक कलर ल्याब, दीपेन्द्रसाह कानु र अवधेश प्रसाद तेलीको शिवम् ट्रेडर्स, ज्योति केडियाको महादुर्गा स्क्रीन प्रोडक्टस्, सञ्जय गिरीको आकाश इन्टरप्राइजेज, राजेशप्रसाद रौनियारको मनिष कन्सट्रक्सन छन् भने रामनारायण साह तेलीको प्रदीप सप्लाई सेन्टर, शारदा कन्सट्रक्सन, ध्रुव कार्कीको डीएस मोना जेभीलगायतका ५० कम्पनीमाथि कारवाही भइरहेको कार्यालयले जानकारी दिएको छ।