एकैपटक एउटै घरमा तीन पुस्ताको किरिया



दुर्गाप्रसाद शर्मा, पर्वत
दैव पनि कति निष्ठुरी भइदिन्छ, एउटै घर, दुई जना किरियामा बसेका छन् तर उनीहरु तीन पुस्ताको पितृमुक्तिका लागि ।

पर्वत कुस्मा नगरपालिका–९ कटुवाचौपारीमा दुर्घटनामा परेर ज्यान गुमाएकी तीन वर्षीया छोरी ममता र उनका बाबु कमल लामिछानेको दाहसंस्कारपछि शनिबारदेखि किरिया शुरु भएको छ ।

लामिछानेका बाबुछोरीको मात्रै होइन तीन वर्ष पहिले कालगतिले मृत्यु भएका कमलका बाबु खिमराम लामिछानेको पनि शनिबारदेखि नै किरिया शुरु भएको छ । खिमरामका जेठा छोरा राम शर्मा लामिछाने विदेशमा भएकाले फर्केपछि बाबुको किरिया बसेका छन् भने ६ दिन पहिले मृत्यु भएका कमल र छोरीको किरिया भने ठूलो बुबा बसेका छन् ।

छिमेकी तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा असार १२ गते मंगलबार भएको सडक दुर्घटनामा बाबु कमल र छोरी ममताको मृत्यु भएको थियो भने श्रीमती पार्वती गम्भीर घाइते छन् । रोजगारीका लागि कोरियामा रहेका कमलका दाजु राम शर्मा लामिछाने घर फर्केपछि दाहसंस्कार गरिएको हो ।

मृतक लाछिानेका बाबु खिमरामको पनि तीन वर्ष अघि निधन भएको थियो भने गत वर्ष हजुरआमा गुमाएका थिए । दाजु विदेशमा भएकाले बाबुको किरिया समेत गर्न पाएका थिएनन्, भाइ र भतिजी गुमाउनुपर्दा भाइको समेत किरिया गर्न पाएनन् । दाजु रामको परिवार कुस्मामा बस्दै आएको छ भने कटुवाचौपारीको घरमा कमल र ५५ वर्षीया विधवा आमा मात्रै रहँदै आउनुभएको छ ।

मंगलबार आँबुखैरेनीबाट डुम्रेका लागि छुटेको ग१ख ३०७३ नम्बरको बसले बा१७च १८१४ नम्बरको भ्यान र ग५प १९४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको थियो । दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका–९, कटुवाचौपारीका २५ वर्षीय कमल लामिछाने र उनकी तीन वर्षीया छोरी ममता लामिछानेको उपचारका क्रममा गण्डकी मेडिकल कलेज, पोखरामा मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी कमलकी श्रीमती २० वर्षीया पार्वतीको पनि गण्डकी मेडिकल कलेजमा नै उपचार भइरहेको छ ।

दुर्घटनाका अन्य घाइतेमा चितवन भरतपुर–६ की २० वर्षीया सरु पाठक, पर्वतको कुश्मा नगरपालिका–१३ खौलाका २४ वर्षीय गुरुदत्त तिवारी, वडा नं २ खुरकोटकी ३९ वर्षीया सीतादेवी चालिसे र नवलपरासी सुस्ताका ३५ वर्षीय आनन्द तिवारी छन् । उनीहरु पनि मृतकका आफन्त नै हुन् । कुश्माबाट काठमाडौँ जाने क्रममा मृतक लामिछाने र आफन्त एउटा निजी प्रकाशन गृहको भ्यानमा त्यसतर्फ जाँदै थिए ।

काठमाडौँको निजी पब्लिकेसनमा काम गर्दै आएका मृतक लामिछानेकी श्रीमती पार्वती र छोरी भने मनकामना मन्दिरमा पूजा गर्न हिँडेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्