स्थानीय सरकार: बजेटकै चटारोमा



मोतीराम तिमल्सिना, काभ्रे
असार महिना मानो रोपेर मुरी फलाउने समयमा कृषकहरु खेतबारीमा ब्यस्त भएको समय जनप्रतिनिधिहरु अर्थात स्थानीय सरकार बजेटको चटारोमा छन् ।

तोकिएकै समयमा असार १० गतेबाट स्थानीय सरकारले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरी मसान्तसम्ममा पास गरिसक्ने गरी छलफलमा ब्यस्त छन् । केहि स्थानीय सरकारले तोकिएको समय भित्रै परिषद् शुरु गरेका छन् भने केहिले मसान्तसम्मको भाकालाई पर्खिएका छन् । जिल्लामा धुलिखेल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने रोशी गाउँपालिकाले सोहि दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

 

बनेपा, पनौती, पाँचखाल नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका छन् भने गाउँपालिकाहरु बेथाञ्चोक, भुम्लु, चौरीदेउराली, तेमाल, महाभारत र खानिखोलाले पनि तयारी गरिरहेको बताएका छन् ।

नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले नगरपालिकालाई पर्यटन केन्द्रित विकासको माध्ययमबाट नेपालकै पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने बताए । धुलिखेल नगरपालिकाको तेस्रो नगरसभामा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख अशोक ब्यान्जुले उक्त लक्ष्य प्रस्तुत गरेका हुन् । धुलिखेललाई हरियालीयुक्त, वातावरणमैत्री र स्मार्ट धलिखेलको निर्माण मार्फत नगरवासीको जीवनस्तरमा गुणात्मक सुधार गरिने बताए ।

नगर प्रमुख व्याञ्जुले नगरसभामा आगामी आर्थिक बर्षका लागि ६० करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । बजेट वक्तव्यमा नगरपालीकाले केन्द्र तथा प्रदेश सरकारसँग नेपाल सरकारले प्रस्ताव गरेको नागढुंगा देखी धुलिखेल सम्मको मेट्रो रेल निर्माणलाई छिटो सुरुवात गर्न आग्रह गर्ने, वडा नम्वर ११ ठुलीचौरमा आन्तरिक विमानस्थल निर्माणका लागी अनुरोध गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा विगत ८ वर्षदेखी संचालनमा रहेको काभ्रे उपत्यका एकिकृत खानेपानी परियोजनालाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

परियोजनाले नसमेट्ने नगरका बाँकी ठाउँमा गुणस्तरिय खानेपानी पु¥याउन नसांकनले पहिचान गरेका २७ वटा योजना मध्ये ७ वटा योजना आगामी २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस्तै कृषि, पशुसेवा, सहकारी, उद्योग विकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राखी १ करोड वजेट विनियोजन गरिएको छ । विगत लामो समयदेखी अलपत्र अवस्थामा रहेको ल्याण्ड पोलिङलाई आगामी आर्थिक वर्षमा ठोस प्रगती हुने गरी अघि बढाइने नगर प्रमुख ब्यान्जुले बताए । धुलिखेल नगर भित्रका महिलाहरुलाई धुलिखेल अस्पताल र वर्थिङ सेन्टरमा बच्चा जन्माएमा सेफ्टी सामाग्री र नवजात शिशुलाई न्यानो कपडा उपलब्ध गराउने समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

एकिकृत नगर विकास योजना अन्तर्गत देविटार क्षेत्रमा झरना, ठुलोवन क्षेत्रमा हाइकिङ सहित पदमार्ग पहिचान रुट निर्धारण तथा नयाँ वस्ती, तल्लो कुत्तालको दोभान र रवी ओपीको तल्लो क्षेत्रमा कृ ित्रम तालको पुर्व सम्भाब्यता अध्ययनको कार्य सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ । नगरसभामा उप प्रमुख विमला शर्माले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

मण्डनदेउपुर नगरपालिकाको तेस्रो नगर नगर सभाले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि ५१ करोड ३८ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवाले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न ५१ करोड ३८ लाख ९६ हजार रकम विनियोजन गरेका हुन् । उनले कूल विनियोजन बजेटको मध्ये चालु तर्फ ५५ दशमलव ७४ प्रतिशत अर्थात् २८ करोड ६४ लाख ६२ हजार र पूँजीगत तर्फ ४४ दशमलव २६ प्रतिशत अर्थात् २२ करोड ७४ लाख ३४ हजार रकम विनियोजन गरेको जानकारी दिए ।

नगर प्रमुख वाइवाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघिय समानीकरण अनुदानबाट १० करोड ३२ लाख, प्रदेश समानीकरण अनुदानबाट ८९ लाख ७२ हजार, संघिय सशर्त अनुदानबाट१५ करोड ९४ लाख, प्रदेश सशर्त अनुदानबाट ३ करोड ९८ लाख ९० हजार, आन्तरिक राजश्व अनुमान ११ करोड, जिल्ला समन्वय समिति र घर जग्गा रजिष्ट्रेशन वापत जिल्लाबाट प्राप्त हुने राजश्व बाँडफाँड मार्फत ५० लाख, संघिय विभाज्य कोषबाट राजश्व बाँडफाँड अन्तर्गत प्राप्त हुने ६ करोड ७४ लाख ३४ हजार र गत वर्षको नगद मौज्दात २ करोड रहेको बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा नगपालिका अन्र्तगतको कुन्तावेशी फाँट उर्वर भूमि रहेकोले यसको संरक्षण गर्ने, नगरमा बृहत खानेपानी, सरसफाई कार्यक्रमलाई उच्च प्राथमिकता दिने, नगरपालिकाको लागि आवश्क पर्ने जग्गा, ल्याण्फिल्ड साइड र अस्पताल निर्माणको लागि जग्गा ब्यवस्थापनको काम अघि बढाइएको जनाएको छ ।

नगरपालिकाले हिंगुवापाटीदेखि सोतेहुँदै चिहान कुनालाई बैकल्पिक ट्रिपर मार्ग निर्माण गर्ने, नगर यातायात गुरुयोजना इन्द्रावती, चाखोला र आँसीखोलाको गिटी र वालुवा उत्खनन् कार्यलाई ब्यवस्थित गर्ने आईइइ गर्ने नीति अघि सारिएको नगरप्रमुख वाइवाले बताए ।

 

जेष्ठ नागरिक परिचय पत्र वडाबाट नै वितरण गर्ने, नगरभित्रको विपद्को सामना गर्नको लागि २० लाखको आकस्मिक कोष स्थापना गरिएको छ । नगरपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिकीकरण गर्न १ करोड विनियोजन गरेको छ । नगर उपप्रमुख निर्मला शाहिले चालु वर्षका कार्यक्रमका बारेमा जानकारी गराएकी थिईन् ।

जिल्लाका अन्य स्थानीय तह जस्तै नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले कृषि तथा पशुपंक्षी विकास नीति, वातावरण संरक्षण नीति, विपद् व्यवसथापन नीति, फोहोर मैला तथा सरसफाई सम्बनधी नीति, भौतिक तथा पूर्वाधार विकास नीति, सडक तथा यातायात नीति, खानेपानी तथा सरसफाई नीति, विद्युत तथा बैकल्पिक उर्जालगायतका २२ वटा नीति सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले भू–उपयोग नीति अनुसार नगरको भू– बनोट तथा हावापानीलाई मध्यनजर गर्दै कृषि बालीहरुको पकेट क्षेत्र निर्धारण गरि सोही अनुसार जैविक कृषि उत्पादनमा विविधिकरण गर्न प्रोत्साहित गर्ने, ११ वटै वडामा एक गाउँ एक उत्पादन कार्यक्रम संचालन गर्ने, भकुण्डेबेशीमा सिंचाईको ब्यवस्था मिलाउनलागि दाप्चा,सोती खोला लगायतका सबै समभावना भएका खोलाहरुमा प्रत्येक २ सय ५० मिटरमा बाँध निर्माण गर्ने, राष्ट्रिय राजमार्गको क्षेत्राधिकार भित्र ग्रिन बेल्ट घोषणा गरि बृक्षारोपण कार्यक्रम संचालन गर्ने, एक नगर एक उद्यान कार्यक्रम संचालन गरिने नीति अघि सारेको छ ।

विपद्बाट हुने क्षति कम गर्न आवश्यक पर्ने न्यूनतम यन्त्र साधन तथा औजाहरुको उचित ब्यवस्थापन गर्ने, एक वडा एक वातावरण मैत्री पार्क तथा एक वडा एक ल्याण्डफिल्ड साईड निर्माण गर्ने, निर्मित पूर्वाधारहरुको नियमित मर्मत सम्भार, संचालन, संरक्षण एवं सम्बद्र्धन गर्न नीति क्षेत्र तथा सामुदायिक सहकारी क्षेत्र र उपभोक्ता समितिहरुलाई प्रोत्साहित गर्ने, नगरस्तरिय यातायात गुरुयोजनालाई समय सापेक्ष अद्यावधिक गर्ने लगायतका नीति अघि सारेको छ । बार्षिक नीति तथा कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङ, ११ वटै वडाका वडा अध्यक्षहरुले नीति तथा कार्यक्रम माथि आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्