बोडेको कमलपोखरी सार्वजनिक गरी संरक्षण गर्न अदालतको आदेश



पुष्कर बुढाथोकी, भक्तपुर । जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी) लाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ । वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले यसअघिको पैmसला बदर गर्दै कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको हो ।

सो मुद्दामा वादीका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, विवेकराज ढुंगेल, देवेन्द्र श्रेष्ठ तथा प्रतिवादीका तर्फबाट अधिवक्ता चन्द्रमणि पौडेल समेतले बहस गर्नुभएको थियो । पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम हुनुपर्ने माग गर्दै दायर मुद्दामा अदालतले प्रमाणको मूल्याकंनका आधारमा व्यक्तिका नाममा दर्ता हुने गरी यसअघि भएको पुरानो फैसला तथा निर्णय बदर गरी सो पोखरी सार्वजनिक हुने फैसला गरेको हो ।

सयौवर्ष अगाडिदेखि सार्वजनिक पोखरीको रुपमा रहेको मध्यपुरथिमि नगरपालिका ८ बोडेको धार्मिक तथा साँस्कृतिक महत्व रहेको कमल पोखरी जोगाउँन माग गर्दै मध्यपुरथिमिका बासिन्दाले पटक पटक भक्तपुर जिल्ला अदालतमा धर्ना दिएका थिए ।
भक्तपुर जिल्ला अदालतमा पोखरीको विषयमा बहस भएपछि स्थानीय बासिन्दाले परापूर्वकालदेखि धार्मिक कार्यका लागि प्रयोग हुदै आएको उक्त पोखरीको अबैध दर्ता एवं किनबेच भएको भन्दै स्थानीयले पोखरी सार्वजनिक हुनुपर्ने माग गरेका थिए ।

तत्कालिन बोडे गाउँ पञ्चायत वडा नं. ६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडे, नगदेशका बासिन्दाले व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रुप मै फर्काइनु पर्ने माग राखेका थिए ।

नेपाली काँग्रेसका नेता तथा स्थानीय गणेशमान चक्रधरले भूमाफियाले सार्वजनिक पोखरी नै दर्ता गरेर बिक्री गरेको बताउँदै यसलाई सार्वजनिक पोखरी कै रुपमा फर्काउन स्थानीयले माग गर्दै आएको बताउनुभयो ।

अदालतका न्यायाधिस मातृकाप्रसाद मरासिनीको ईजलासले कान्छी पोडेनीलाई अदालतमा झिकाउने आदेश दिएको छ । साथै पोखरी वरिपरिको जग्गा कुन लगत भिडाएर दर्ता गरिएको हो त्यसको लगत अदालतमा पेश गर्न आदेश दिएको छ । अदालतको फैसला सुन्न स्थानीय सयौँ बोडेवासी अदालत परिसर पुगेका थिए । अदालतलाई सार्वजनिक हितमा फैसला गर्न दबाब दिने उद्देश्यले बोडेवासी अदालत पुगेको समितिका अध्यक्ष चक्रधरले बताउनुभयो ।

बोडेको सो ऐतिहासिक पोखरीमा फुल्ने कमलको फूल बोडेकै लायकु दरबारमा रहेको तलेजुलाई चढाउने परम्परा रहेको छ । साथै, सो पोखरीको कमलको फूल नीलबाराही नाचका देवगणलाई समेत चढाउनु पर्ने परम्परा रहेको छ । धार्मिक महत्वसमेत बोकेको सो पोखरी २०४२ सालमा कान्छी पोडेनीको नाममा दर्ता भई त्यसयता पटकपटक खरिद बिक्री हुँदै आइरहेको थियो ।

सार्वजनिक पोखरी भएको जग्गा खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग भने गर्न सकेको थिएन । केही वर्ष अघि सो पोखरीमा माटो पुर्न आएका केही व्यक्तिलाई स्थानीयले लछारपछार गर्दै लखेटेदेखि यता पोखरी पोखरीकै रुपमा रहेको छ । सो पोखरी सार्वजनिक हुनुपर्ने माग गर्दै स्थानीयले ऐतिहासिक पोखरी संरक्षण समिति गठन गरी आन्दोलन गर्दै आइरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्